Logo

देशका मुख्यसहित १७ भाटभटेनीमा आन्दोलनकारीको लुटपाट र आगजनी, ३० अर्ब बढीको क्षति

देशका मुख्यसहित १७ भाटभटेनीमा आन्दोलनकारीको लुटपाट र आगजनी, ३० अर्ब बढीको क्षति



काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा देशभरका प्रमुख भाटभटेनीका स्टोरहरुमा ठूलो क्षति पुगेको छ । भाटभटेनी सुपरस्टोर उच्च स्रोतका अनुसार, प्रदर्शनकारीहरुले देशका मुख्य स्थानहरुमा रहेका १७ बढी भाटभटेनी सुपरस्टोरहरुमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् । यस घटनाबाट करिब ३० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले करोडौं मूल्यका वस्तुहरु लुटेर लगेका छन् ।

आन्दोलनले सुरुमा शान्तिपूर्ण रुप लिए पनि पछि उग्र बन्दै गएपछि प्रदर्शनकारीहरुले संसद भवन नजिकैबाट सुरु गरेको जुलुसले काठमाडौंका विभिन्न भागहरुमा फैलिँदा निजी सम्पत्तिहरुमा आक्रमण गरेका छन् । भाटभटेनी सुपरस्टोरहरु यस आन्दोलनको मुख्य निशाना बनेका छन् । भाटभटेनीका उच्च स्रोतले बताएअनुसार, मुख्य स्टोरहरु नक्साल र कोटेश्वरमा सबैभन्दा बढी क्षति भएको छ । नक्सालको स्टोरमा प्रदर्शनकारीहरुले प्रवेश गरी सामानहरु लुटेर लगेका छन् भने कोटेश्वरको स्टोरमा आगजनी समेत भएको छ ।

यसबाहेक, चुच्चेपाटी, टोखा, बालाजु र कलंकीका भाटभटेनी सुपरस्टोरहरुमा पनि तोडफोड र लुटपाट भएको छ । मोफसल क्षेत्रहरु जस्तै विराटनगर, पोखरा र अन्य ठाउँका स्टोरहरुमा समेत आगजनी गरिएको स्रोतको भनाई छ । स्रोतका अनुसार, यी घटनाहरुमा प्रदर्शनकारीहरुले खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, कपडा र अन्य दैनिक उपभोग्य वस्तुहरु करोडौं मूल्यका लुटेर लगेका छन् ।

यो घटना यसअघि केही महिनाअघि राजावादीहरुको आन्दोलनमा पनि भएको थियो । राजावादी प्रदर्शनकारीहरुले पनि भाटभटेनी सुपरस्टोरहरुलाई निशाना बनाएका थिए, जसमा कोटेश्वर र अन्य स्थानहरुमा लुटपाट भएको थियो । आन्दोलनकारीहरुको अराजकताले राष्ट्रिय सम्पदाहरु जस्तै संसद भवन नजिकका संरचनाहरु, कारखानाहरु र अन्य निजी क्षेत्रका अर्बौं मूल्यका सम्पत्तिहरु ध्वस्त भएका छन् । प्रदर्शनकारीहरुले सडकमा टायर बाल्दै, ढुंगा हान्दै र सामानहरु लुट्दै गर्दा देशको अर्थतन्त्रमा ठूलो असर परेको छ ।

जेन जी पुस्ताका युवाहरुले यो आन्दोलनलाई भ्रष्टाचारविरुद्धको क्रान्ति भनेका छन्, तर यसले अराजकता निम्त्याएको छ । भाटभटेनी सुपरस्टोरहरु जस्ता निजी व्यवसायहरु यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । उच्च स्रोतका अनुसार, स्टोरहरु पुनः सञ्चालन गर्न बर्षौंलाग्न सक्छ र यसबाट हजारौं रोजगारीहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्