Logo

भ्याट छलिबाट सीआईपी सम्मान खोसिएको जगदम्बा स्टिलका मालिक अग्रवाल महामारीमा कालोबजारीमा लिप्त

भ्याट छलिबाट सीआईपी सम्मान खोसिएको जगदम्बा स्टिलका मालिक अग्रवाल महामारीमा कालोबजारीमा लिप्त



भारतको स्टिल जायण्ट टाटा ग्रूपका संस्थापक रतन टाटाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारलाई ५ अर्ब भारु सहयोग दिए । अन्य राहत समाग्री समेतको हिसाव गर्दा टाटा समूहले भारत सरकारलाई १५ अर्ब भारु बराबरको राहत सहयोग गरेको छ ।
तर, नेपालको स्टिल जायन्ट जगदम्बा स्टिलका मालिक सुलभ अग्रवालले भने कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना भएको सरकारी कोषमा एक रुपैयाँ पनि सहयोग गरेनन् । सहयोग त परको कुरा अत्यावश्यक वस्तुको आपूर्र्तिमा सरकारलाई सहयोग गर्न लाग्नुपर्ने ठूलो औद्योगिक घरना शंकर ग्रूपका निर्देशक अग्रवाल उल्टै कालोबजारी गरेर नागरिकलाई ठग्न उद्दत देखिए ।

अग्रवालले चीनको गोञ्जाउबाट नेपाल एयरलाईन्सबाट चैत २१ गते करिव १० हजार सय थान थर्मल गन ल्याएको उच्च स्रोतले जानकारी दिएको छ । तर, उनले करीब २५ सय रुपैयाँ प्रति गोटा लागत रहेको थर्मल गनलाई १५ हजार रुपैयाँभन्दा बढीमा विक्री गरेको सूचना पाएपछि प्रहरीले उनलाई फलो गर्याे । त्यसपछि प्रहरी आफै ग्राहक बनेर अग्रवालसँग थर्मल गन डिल गर्याे ।

उनले खरीद मुल्यभन्दा कयौं गुणा बढी मुल्य भनेपछि प्रहरीले उनलाई कालोबजारीको आरोपमा ६७ थान थर्मल गन सहित मंगलवार पक्राउ गर्याे । प्रहरीले अग्रवालको घर र कार्यालयमा छापा समेत मारेको छ । तर, उनको घर र कार्यालयमा थर्मल गन फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

महामारीको मौका छोपेर ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको अभियोगमा मंगलबार पक्राउ परेका अग्रवाललाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार म्याद थप गरेको हो । प्रहरी हिरासतमा रहेका अग्रवाल बिरामी बहाना गरेर अस्पताल भर्ना हुन खोजेपनि डाक्टरले उनको सम्पूर्ण स्वास्थ्य अवस्था ठिक भएको रिपोर्ट दिएपछि पुनः प्रहरी हिरासतमै राखिएको छ । प्रहरीले आफ्नो अनुसन्धानबाट उनले के कति कालोबजारी गरे भन्ने पत्ता लगाउला, ल्याएका सामग्री कहाँ कहाँ कति कति विक्री गरे भन्ने बाहिर ल्याउला, उनलाई कानुनअनुसार दण्ड सजाय पनि होला । तर, त्यो भन्दा पनि ठूलो प्रश्न उनको नियमतमा उठेको छ ।

वार्षिक अर्बौ रुपैयाँ आम्दानी गर्ने शंकर ग्रूपका निर्देशकले ५–१० लाख नाफा आर्जन गर्न आपतको घडि किन रोजे ? उनलाई नजिकबाट चिन्ने उद्योगहरु यसलाई सामान्य मान्छन् । यसअघि पनि भ्याट छलि, डेडिकेटेड फिडरलाईनलगायत प्रकरणमा जोडिएको शंकर समूहले कानुनका छिद्रहरु प्रयोग गर्दै अनियमितता गर्ने गरेको उनीहरु बताउँछन् ।

एक जना पुराना आर्थिक पत्रकारले अग्रवाललाई लक्षित टुईटमा भनेका छन् कि शंकर ग्रूपको यस्तो धन्दा नयाँ होइन पुरानै हो । ‘सन् नब्बेको दशकमा कम्प्युटर÷कम्पयुटर्स पार्टस आदीको तस्करीबाट आर्जित धन उद्योगमा लगानी गरी उद्योगपतिमा दर्ज धेरै छन्, त्यहि गोरखधन्दा अहिले पनि चलाउन खोजे राम राम भन्न पर्छ ।’ कर्पोरेट क्षेत्रमा चरिपरिचत एक अर्का आर्थिक पत्रकारले पनि सुलभ अग्रवालले गरेका कालोबजारीलाई लक्षित गर्दै एक टुईट गरेका छन् । ‘नेपालका केहि ठूला व्यापारिक घरनाको नशामा रातो रगत बग्दैन, तस्करी÷कालोबजारी बगरिरहेको हुन्छ,’ उनले टुईटरमा उल्लेख गरेका छन ।

अग्रवालले थर्मल गनका साथै पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)मा कालाबजारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनले सोही समयमा ल्याएको पीपीईमा पनि कालाबजारी गरेर बिक्री गरेको तथ्य खुल्न आएको छ । चीनबाट ३ हजार रुपैयाँमा ल्याएको पीपीलाई अग्रबालले १५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँ लिएर कर्पोरेट हाउसहरुलाई बिक्री गरेको उक्त स्रोतले जानकारी दिएको छ ।

नेपालमा आधिकारीक रुपमा आयात हुने ब्राण्डहरु खोस्ने विषयमा पनि अंग्रपंतिमा शंकर ग्रुप देशमा संकट आईपर्दा कालाबजारी देखि विभिन्न हतकण्डा अपनाएर कमाउन धन्दामा लाग्नेगरेको समेत उक्त स्रँोतले जानकारी दिएको छ । अग्रवालले नक्सालमा पाँच चारे होटल हिल्टन बनाउँदा पनि शक्तिकै आडमा बाटो समेत मासेर बनाएका थिए । स्थानीयको पटक पटकको विरोपछि विग्रीएको बाटो सामान्य मात्र बनाएर छाडेको अहिले पनि देख्न सकिन्छ ।

किर्गिस्थानका लागि महाबाणिज्य दूत समेत रहेका अग्रवाले लकडाउनको समयमा सोही सुविधा वापत भएको निलो नम्बर प्लेटको गाडि प्रयोग गरेर कालाबजारी गर्नु भनेको देशद्रोह नै भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । उनले प्रहरीलाई महाबाणिज्यदूत भए बापत पाएको निलो नम्बर प्लेट २०९–एच.सी.सी–१ नम्बरको गाडि प्रयोग गरी थर्मल गन बिक्री गरेका थिए ।

सिआईपी खोसिएको थियो जगदम्बाको

२०६८मा सरकारले उत्पादन, रोजगारी तथा निर्यातमा योगदान दिएको भन्दै महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी)बाट उद्योगी व्यवसायीलाई सम्मान गर्याे । उक्त सम्मानबाट जगदम्बा स्टिल पनि सम्मानित भयो । तर, भ्याट छलि प्रकरणमा मुछिएको भन्दै उसको सिईपी खोसियो । त्यतिबेला सिआईपी सम्मान खोसिएको जगदम्बाको यतिबेला सामाजिक प्रतिष्ठा नै खोसिएको छ । अझ उनको हर्कतले मारबाडी समुदाय र समग्र निजी क्षेत्रलाई नै बदनाम गराएको छ ।

विपदको समयमा धेरैजसो व्यवसायीक घरनाका मारबाडीहरु खाद्यान्न वितरण देखि स्वास्थ्य सामग्री वितरणमा लागेको समयमा सुलभ अग्रबालले थर्मल गन, पीपीईजस्ता स्वास्थ्य सामग्रीमा कालाबारी गरेको समग्र मारबाडी समुदायमै बेईजत गरेको एक मारबाडी व्यवसायीले बताए । ‘यस्तो अवस्थामा सबै मिलेर थोरबहुत राज्यका सहयोग गर्नुपर्ने अवस्थामा सुलभ अग्रबालले कालाबजारी गरेर गद्दारी गरे,’ ती मारबाडी व्यवसायीले भने, ‘राज्यलाई आपत गर्दा कालाबजारी गरेर गद्दारी गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL