काठमाडौं । ४५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित भारतीय नागरिक एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगाल भारतका ३१ वर्षीय महादेव सामान्त रहेका छन्।
उनी काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र ०३–००१ ख ३१३९ नम्बरको यात्रुबाहक बसमा यात्रा गरिरहेका थिए। प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सामान्तको साथबाट २७४.८३ ग्राम अवैध सुन फेला परेको प्रहरीले जनाएको छ। बरामद सुनको अनुमानित बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ बराबर रहेको छ।
उनीलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।