Logo

असोजमा भित्रियो २ अर्ब बढी विदेशी लगानी, ३ महिनामा २० अर्ब लगानीको प्रतिबद्धता

असोजमा भित्रियो २ अर्ब बढी विदेशी लगानी, ३ महिनामा २० अर्ब लगानीको प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक बर्षको असोज महिनामा नेपालमा २ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा विभिन्न ५० परियोजनामार्फत २ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

laxmi

विभागका अनुसार यो बेलामा आएको वैदेशिक लगानीमध्ये ४५ प्रतिशत लगानी भने पर्यटन क्षेत्रमा मात्रै आएको देखिएको छ । यसले विदेशी लगानीकर्ताको लगानी आकर्षणको केन्द्र भने पर्यटन क्षेत्र नै भएको देखाएको हो । यस्तै यसै अवधिमा लगानी प्रतिवद्धताको १३.३३ प्रतिशत लगानी भने सेवा क्षेत्रमा आएको देखिएको छ । यो असोजमा धेरै लगानी भित्र्याउने दोस्रो आकर्षित क्षेत्र हो ।

असोज महिनामा आएको लगानी प्रतिवद्धतामध्ये १ अर्ब ९८ करोड रुपैयाँ नयाँ परियोजनामार्फत आएपनि बाँकी रहेको ४६ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिवद्धता भने सेयर पर्चेज एग्रिमेन्ट (एसएपीए), सेयर सब्स्क्रीप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मार्फत भित्रिएको हो ।

यस्तै चालु आवको साउनदेखि असोजसम्म अर्थात ३ महिनामा भने नेपालमा २० अर्ब २७ करोड ५२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा आएको यो प्रतिवद्धता १ सय ८१ परियोजनामार्फत आएको हो । यस अवधिमा आएको लगानी प्रतिवद्धतामध्ये पनि १६ अर्ब ६० करोड रुपैयाँ नयाँ परियोजनामार्फत आएको हो भने ३ अर्ब ६७ करोड रुपैयाँको प्रतिवद्धता एसपीए, एसएसए र टीटीए परियोजनामार्फत आएको हो ।

पछिल्ले ३ महिनामा आएको लगानी प्रतिवद्धतामध्ये पनि ७१ प्रतिशत लगानी प्रतिवद्धता भने पर्यटन क्षेत्रमै आएको उद्योग विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL