Logo

ऊर्जामा भएको ठूलो लगानीको सुरक्षा सरकारले गर्छ ढुक्क भएर लगानी गर्नु : गृहमन्त्री श्रेष्ठ

ऊर्जामा भएको ठूलो लगानीको सुरक्षा सरकारले गर्छ ढुक्क भएर लगानी गर्नु : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका हुन् ।

laxmi

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने रहेको मन्त्री श्रेष्ठले बताएका थिए भने इप्पानले सुशासनको अभियान सुरु गरेकोमा धन्यावद दिएको थियो ।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए । साथै बिस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजिकरण गरिदिन आग्रह गरेका थिए ।

इप्पान र बीमा प्राधिकरणबीच पनि भेटवार्ता

यस्तै सोमबार नै इप्पान र बीमा प्राधिकरणबीच पनि भेटवार्ता भएको छ । उक्त भेटमा बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिकाहरु जारी गर्ने बताएका छन् ।

पछिल्लो समय बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको न्युनतम प्रिमियम सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै एकतर्फी रुपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ । उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गरेको थियो ।

यो बीचमा निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघ र इप्पानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि २–३ पटक छलफल भएको छ । तर, सबैलाई मान्य हुने गरी प्रिमियम निर्धारण गर्ने काम भने हुन सकेको छैन । जसका कारण कतिपय नविकरण गर्नुपर्ने पोलीसीहरु नविकरण गरिएका छैनन् भने नयाँ पोलीसी पनि जारी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL