Logo

शिवम सिमेन्टले समेत तिरेन विद्युत महशुल, दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

शिवम सिमेन्टले समेत तिरेन विद्युत महशुल, दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौँडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

laxmi

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।

इञ्जिनियर चौहानले उद्योगले हालसम्मको २ अर्ब २४ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । ‘उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो’, उनले भने, ‘त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।’

उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताउनुभयो । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उहाँको भनाइ थियो ।

‘कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ’, इञ्जिनियर चौहानले भने, ‘पाँच जनाबाट १ लाख २२ हजार ५ सय ९२ रुपैयाँ सङ्कलन गरिएको छ ।’ उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ ।

प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL