Logo

वैदेशिक लगानीमा उछाल, साउनमै आयाे ११ अर्ब ९६ करोडको लगानी प्रतिवद्धता

वैदेशिक लगानीमा उछाल, साउनमै आयाे ११ अर्ब ९६ करोडको लगानी प्रतिवद्धता



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना ‘साउन’मै प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको देखिएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउन महिनामा मात्रै ११ अर्ब ९६ करोड रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

laxmi

विभागका अनुसार यो प्रतिवद्धता गत आर्थिक बर्षको साउन महिनाको तुलनामा १० अर्ब रुपैयाँले बढी हो । साउनमा विभिन्न ६६ वैदेशिक लगानीका परियोजनामार्फत मात्रै ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । जवकी गत आवको यहि अवधि अर्थात ‘साउन’मा ४ परियोजनामार्फत जम्मा १ अर्ब २५ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

उद्योग विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको साउनमा नयाँ ६० परियोजनामार्फतमात्रै ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै यसै अवधिमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत ६ परियोजनाबाट ३ करोड ६० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यस्तै यस अवधिमा आएको कुल वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी अर्थात ५४ साना परियोजना, ४ ओटा मध्यम र २ ओटा ठुला परियोजनामार्फत प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । यी सबै परियोजनाबाट नेपालमा ३ हजार ३ सय १ जनाका लागि रोजगारी सिर्जना हुने बताईएको छ ।

यसै अवधिमा लगानी प्रतिवद्धता मात्रै नआई केहि लगानी बाहिरिएको पनि छ । विभागको तथ्यांकलाई नै आधार मान्दा चालु आवको साउनमा मात्रै विदेशी लगानीकर्ताले करिव ७५ करोड रुपैयाँ लगानी फिर्ता लिनका लागि सिफारिस लिएका छन् ।
जसमध्ये २० करोड ३० लाख रुपैयाँ लाभांस र करिव ५२ करोड रुपैयाँ रोयल्टी फिर्ता लैजाने गरी विभागले विदेशी लगानीकर्तालाई स्वीकृत दिएको हो ।

रोयल्टी फिर्ता लिने लगानीकर्ताले ४९ करोड ९४ लाख नेपाली रुपैयाँ, १ लाख १६ हजार अमेरिकी डलर र १२ लाख १३ हजार भारतीय रुपैयाँका लागि सिफारिस लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL