Logo

बढ्दै बिजुलीको माग, सोमबार पिक डिमान्ड यो बर्षकै उच्च

बढ्दै बिजुलीको माग, सोमबार पिक डिमान्ड यो बर्षकै उच्च



काठमाडौं । जाडोयाम सुरु भएसँगै नेपालमा बिजुलीको माग बढिरहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार गएको सोमबार मात्रै नेपालमा बिजुलीको पिक डिमाण्ड यो बर्षकै उच्च १७ सय ४४ मेगावाट पुगेको हो ।

जाडो महिनामा उपभोक्ताहरुले हिटर बाल्ने, एसी चलाउने लगायतका कार्य गर्नाले बिजुलीको माग अत्याधिक बढ्छ । जसको आपुर्तिका लागि प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने गरेको छ ।

पिक डिमाण्डकै कुरा गर्दा गएको महिना मंसिर महिनाभरी नेपालमा बिजुलीको पिक डिमाण्ड १४ सयदेखि १६ सय ९५ मेगावाटको आसपासमा भयो । अर्थात यो महिनाभरी सबैभन्दा बढि माग भएको दिन १६ सय ९५ मेगावाट बिजुलीको माग भएको प्राधिकरणले जानकारी दिएको छ । त्यस यता अर्थात पुस महिनामा भने बिजुलीको माग कहिले १४ सय मेगावाटसम्म पुग्ने त कहिले उच्च रुपमा बढ्ने प्रवृत्ति देखिएको छ ।

विद्युत प्राधिकरणका अनुसार हुस्सु लागेर मधुरो घाम लागेका दिन भने बिजुलीको पिक डिमान्ड ह्वात्तै बढ्ने गरेको छ । सोही अनुसार गएको सोमबार अर्थात १८ गते नेपालमा बिजुलीको पिक डिमाण्ड ह्वात्तै बढेर १७ सय ४४ मेगावाट पुगेको थियो । यो चालु बर्षकै उच्च माग हो । पछिल्लो समय लगातार बढिरहेको जाडोका कारण सोमबार बिजुलीको माग यो बर्षकै उच्च विन्दुमा पुगेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् । उनका अनुसार यो बर्षको हिउँदमा अझै पिक बिजुलीको पिक डिमाण्ड बढेर १९ सय मेगावाटसम्म पुग्ने अनुमान प्राधिकरणले गरेको छ । ‘जाडो बढेसँगै क्रमिक रुपमा बिजुलीको माग पनि त्यहि अनुसार बढिरहेको छ,’ उनले भने, ‘यो बर्षको हिउँदमा बिजुलीको उच्च माग हालको मागमा डेढ सय मेगावाटसम्म थपिएर १९ सय मेगावाटसम्म पुग्ने अनुमान हामीले गरेका छौं ।’

प्राधिकरणका अनुसार गत बिहीबार १६ सय ७९ मेगावाट रहेको बिजुलीको पिक डिमाण्ड शुक्रबार १६ सय ४१ र शनिबार ह्वात्तै घटेर १४ सय १८ मेगावाटमा पुगेको थियो । यस्तै यो हप्ताको आईतबार पुनः बढेर १६ सय ६० मेगावाट पुगेको डिमाण्ड सोमबार भने यो बर्षकै उच्च १७ सय ४४ मेगावाट पुगेको हो ।

नेपालमा यो बर्ष सबैभन्दा धेरै बिजुलीको माग बेलुका ५ बजेदेखि ६ बजेसम्म हुने गरेको प्राधिकरणले जानकारी दिएको छ । सोमबार भने बेलुका ५ बजेर ५५ मिनेटमा यो बर्षकै बढी बिजुलीको माग रेकर्ड गरिएको थियो ।

बिजुलीको माग बढेसँगै भारतबाट गरिने बिजुलीको आयातको ग्राफ पनि उकालो लाग्दो छ । बर्खायाममा बढि भएको बिजुली भारतलाई बेचिरहेको नेपालले मंसिर १४ गतेदेखि पुनः भारतबाट बिजुली आयात गर्न थालेको थियो ।

हिउँद लागेसँगै नदी प्रवाही जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली घट्छ । यसो हुँदा नेपालकै आपुर्ति धान्नका लागि पनि भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ । जसका कारण गत मंसिर १४ गते नेपाल विद्युत प्राधिकरणले भारतबाट १२ मेगावाट आवर बिजुली आयात गरेको थियो । त्यसयता लगातार नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ भने नेपालबाट निर्यात हुने बिजुली कटौति भएको छ । गएको मंसिर महिनामा मात्रै नेपालले भारतबाट १७ हजार ५ सय ८९ मेगावाट आवर बिजुली आयात गरेको थियो ।

नेपालमा हाल नेपाल बिद्युत प्राधिकरण मातहतका आयोजनाबाट ८ हजार १ सय ७२ मेगावाट आवर, प्राधिकरणका सहायक कम्पनीबाट ४ हजार २ सय ९ मेगावाट आवर र स्वतन्त्र उर्जा उत्पादकहरुबाट ११ हजार ३ सय ८ मेगावाट आवर गरी २३ हजार ६ सय ८९ मेगावाट आवर बिजुली उत्पादन हुन्छ । तर, नेपालमा बिजुलीमा आवश्यकता भने ३२ हजार ६ सय ७ मेगावाट आवरको छ ।

यसरी बिजुलीको माग भन्दा आपुर्ति कम हुँदा नेपाल विद्युत प्राधिरकणले ८ हजार ७ सय ९७ मेगावाट आवर बिजुली सोमबार आयात गरेको थियो । तर पनि प्रणालीमा ४० मेगावाट बिजुली अपुग भएको प्राधिकरणले जानकारी दिएको छ । अर्थात नेपालमा बिजुलीको उत्पादन १५ सय मेगावाट मात्रै छ । तर, पिक डिमान्ड १७ सय ४४ पुग्दा आपुर्ति बाँकी रहेको २ सय ४ मेगावाट भारतबाट आयात गर्दा पनि अझै ४० मेगावाट अपुग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL