Logo

६१ लाख युनिटले बढ्यो विद्युतको खपत, काठमाडौंमा ९० मेगावाटले बढ्यो माग

६१ लाख युनिटले बढ्यो विद्युतको खपत, काठमाडौंमा ९० मेगावाटले बढ्यो माग



काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो ।
आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको बृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको बृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको प्राधिकरणको भनाई छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो ।
विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ ।

उदाहरणका लागि मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १ हजार ५ सय ३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १ हजार २ सय १७ मेगावाटको तुलनामा ३ सय २२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमाण्ड गतवर्षको सोही दिनको तुलनामा २६ दशमलव ५ प्रतिशत बृद्धि भएको छ ।

मंसिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरुबाट ५ सय ४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरुबाट ५ सय २९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ४ सय २५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाकोसहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा बृद्धि भएको छ । गतवर्ष २ सय ९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३ सय ८२ मेगावाट पुगेको छ ।

ऊर्जाका मागका आधारमा मंसिर २७ गते विद्युत खपत २ करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । उर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८ दशमलव ६५ प्रतिशत बढी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धी भएको बताए ।

‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘विद्युतको माग अहिलेकै रुपमा बृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’

घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।

कार्यकारी निर्देशक घिसिङ आफैंले मुलुक भित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरुलाई चाहिएजति विद्युत लिन आग्रह गर्दै आएका छन् ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।

प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL