Logo

उत्पादन छाडेर उद्योगीको ध्यान प्रशोधन उद्योगमा, नेपालको निर्यात व्यापार पनि आयातित कच्चा पदार्थकै भरमा

उत्पादन छाडेर उद्योगीको ध्यान प्रशोधन उद्योगमा, नेपालको निर्यात व्यापार पनि आयातित कच्चा पदार्थकै भरमा



काठमाडौं । पछिल्लो समय सरकारले देशको अर्थतन्त्र सबल बनाउन उत्पादनमा जोड दिइरहेको छ । देशमै उत्पादन गरेर बिदेश निर्यात गर्ने उद्योगहरुलाई निर्यातमा अनुदान पनि उपलब्ध गराउँदै आएको छ । राज्यले आयात घटाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउन निर्यातमुलक उद्योगमा विशेष सुविधा पनि उपलब्ध गराइरहेको अवस्था छ । तर, उद्योगीहरु भने उत्पादन छाडेर प्याकिङ उद्योगमा आकर्षित भएका छन् । जसले देशलाई राजश्वको वृद्धिमा सहयोग पुगेपनि अनन्तकालमा घाटा पुग्ने उद्योगीहरु नै बताउँछन् ।

laxmi

पछिल्लो समय विदेशबाट आयात गर्ने र फेरि बिदेश नै निर्यात गर्ने खाने तेलको प्याकिङ उद्योगमा लगानीको आकर्षण देखिएको छ । व्यवसायीले बार्षिक २ लाख मेट्रिक टन खानेतेल उत्पादन गर्नेगरी ४ अर्ब २४ करोडको लगानी प्रतिवद्धता गरेबाट नै तेल निर्यातमा रहेको आकर्षण देख्न सकिन्छ ।

पछिल्लो समय नेपालको अन्तरराष्ट्रिय व्यापार (आयात–निर्यात) मा खानेतेलको व्यापार उच्च रहँदै आएको छ । पछिल्ला तथ्यांकहरुमा सबैभन्दा धेरै आयात हुने पदार्थमा खानेतेलको कच्चा पदार्थ र धेरै निर्यात हुने वस्तुको उच्च स्थानमा पनि प्रशोधित खानेतेल रहेको देखिन्छ । यसबाट पनि नेपालको निर्यात व्यापार पनि आयातित कच्चा पदार्थकै भरमा उत्पादित बस्तुमा टिकेको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आर्थिक बर्षमा नेपालले ७९ अर्ब ४२ करोड १८ लाख रुपैयाँ बराबरको प्रशोधित तथा कच्चा खानेतेल आयात गरेको थियो । जसमा तेलहन कच्चा पदार्थको हिस्सा ८० प्रतिशत बढी छ । यस्तै यस अवधिमा नेपालले पनि ५५ अर्ब ९५ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रशोधित खानेतेल निर्यात गरेको छ । अर्थात आयात गरेको कच्चा तेलको तुलनामा नेपालले २३ अर्ब ४६ करोड २७ लाख रुपैयाँ व्यापारघाटा सहेर विदेशमा तेल निर्यात गरेको देखिन्छ ।

यसरी विदेशबाट कच्चा तेल ल्याएर नेपालले विदेशमा उल्लेख्य मात्रामा व्यापार गर्न थालेको ३ देखि ४ बर्ष मात्रै भएको छ । त्यसमा पनि धेरै व्यापार भएको बर्षको रुपमा भने पछिल्लो २ बर्षलाई लिन सकिन्छ । नेपालमा उत्पादनमुलक उद्योगीहरुले तेल प्रशोधनमा लगानी गरेर फाईदा कमाउन सकिने भएपछि उद्योगीको ध्यान उत्पादनमुलक भन्दा प्रशोधन र प्याकिङमा गएको एक उद्योगीले बताए ।

गत ३ बर्षदेखि नेपालमा आयात र निर्यातको पहिलो स्थानमा पर्ने पाम तेलको स्थान हाल अन्य खानेतेलजन्य पदार्थले ओगटेको छ । भारतले अघिल्लो बर्षदेखि नेपालबाट निर्यात हुने पाम तेलको निकासीमा प्रतिवन्ध लगाएपछि उद्योगीहरुले भटमास, तोरी, सुर्यमुखीलगायतको तेलको निर्यातमा ध्यान केन्द्रित गरेका छन् ।

कम मूल्यमा तेलहन कच्चा पदार्थ विदेशबाट खरिद गरेर नेपालमा उत्पादन प्रशोधन गरी बेच्न पाउँदा मनग्य आम्दानी हुने भएपछि यस क्षेत्रमा लगानीसमेत बढिरहेको उद्योग विभाग बताउँछ । विभागको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक बर्षको सुरुवातदेखि चालु आवको हालसम्म तेलहन वस्तुहरु प्रशोधन तथा उत्पादन गर्नेगरी विभिन्न ६ परियोजनामार्फत ४ अर्ब २४ करोड ४४ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार दर्ता भएका उद्योगहरुले बार्षिक २ लाख मेट्रिक टन बढी तेल उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । पछिल्लो समय बढ्दो तेलको मूल्यका कारण यो क्षेत्रमा लगानीसमेत उल्लेख्य भएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुली बताउँछन् । जसमा व्यवसायिक घरानादेखि नयाँ लगानीकर्ताहरु यसप्रति आकर्षित भएका छन् ।

हालै मात्रै नेपालमा तेल प्रशोधन तथा उत्पादन गर्नेगरी व्यवसायका क्षेत्रमा प्रतिष्ठित लक्ष्मी समुहले पनि यसमा लगानीको प्रतिवद्धता जाहेर गरेको छ । कम्पनीले नवलपरासीको रामग्राममा उद्योग स्थापना गर्नेगरी सिद्धिलक्ष्मी फुड्स प्रालिको नाममा उद्योग दर्ता गरेको छ । यो कम्पनीले प्रशोधित, पाम तेल, भटमासको तेल, सुर्यमुखी तेल बार्षिक ३०–३० हजार मेट्रिक टन उत्पादन गर्ने बताएको छ । यस्तै कम्पनीले बार्षिक ७ हजार मेट्रिक टन तोरीको तेल पनि उत्पादन गर्ने बताएको छ ।

विदेशबाट आयात हुने तेलहन र यसको कच्चापदार्थले नेपालको खपतसमेत धानेर विदेश निर्यात गर्नुपर्ने अवस्था उद्योगीको छ । पछिल्लो समय बढेको तेलको मूल्यवृद्धिका कारण यस क्षेत्रका उद्योगीहरु झन मालामाल भएको एक उपभोक्ताकर्मी बताउँछन् । नेपालमा गत बर्षको मंसिरयता खानेतेलको मूल्य लगातार बढ्दो छ । यसरी लगातार तेलको मूल्य बढ्दा हाल खानेतेलको मूल्य प्रतिलिटर २ सय ८० रुपैयाँसम्म पुगेको छ । भटमास, तोरी, सुर्यमुखी, बदाम, तिललगायतको तेलको मूल्य लगातार आकाशिँदा उपभोक्तालाई मार त परेको छ नै त्यसमा पनि गाली भने साना व्यापारीले खानुपरेको दुखेसो नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पोख्छन् । उनका अनुसार उद्योगीहरुले पहिल्यै ल्याएको कच्चा पदार्थमा पनि पछिल्लो समयको मूल्य जोडेर बजारमा पठाउँछन् । त्यैपनि गाली भने हामीले खानुपर्छ । उपभोक्ताले कुरै नबुझी साना व्यवसायी र पसलेलाई मूल्य बढाएको भन्दै गाली गर्ने गरेको उनी बताउँछन् ।

उनका अनुसार पछिल्लो ९ महिनायता खानेतेलको मूल्य प्रतिलिटर १ सय १० देखि १ सय ३० रुपैयाँसम्मले बढेको छ । ९ महिनाअघि प्रतिलिटर १ सय ४० देखि ६० रुपैयाँसम्ममा पाईने खानेतेलको हाल प्रतिलिटर २ सय ८५ रुपैयाँसम्म पर्छ । उद्योगीहरुले भने विदेशमा कच्चा पदार्थको मूल्यमा लगातार वृद्धि हुँदा नेपालमा तेलको मूल्य बढिरहेको बताउँदै आएका छन् । तर, यसको नियमन तथा अनुगमनको जिम्मवारी पाएको वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग तेल बढ्नुको कारण खोजिरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL