काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छ । केन्द्रीय बैंकले जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।
‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग/व्यवसाय पुनस्र्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा ०.५ प्रतिशत विन्दु प्रिमियममात्र थप गरी कर्जाको ब्याजदर कायम गर्नु पर्नेछ’ एकीकृत निर्देशनमा भनिएको छ ।
त्यस्तै, प्रवाह भएको कर्जाको स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी भएमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई १ वर्ष छुट दिइएको छ ।
यता, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ केन्द्रीय बैंकले जनाएको छ । हाल सवारीसाधन किन्न ६० प्रतिशतमात्र कर्जा पाइन्छ ।
बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भएमा आधार दरमा बढीमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा दिइनेछ । सो कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट ६ महिनाको लागि २ प्रतिशत अनुदान उपलब्ध गराउने छ । यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।