Logo

सदनसम्म पुग्यो लघुवित्तको समस्या, मिटरब्याज पीडितलाई न्याय दिन सांसदको माग

सदनसम्म पुग्यो लघुवित्तको समस्या, मिटरब्याज पीडितलाई न्याय दिन सांसदको माग



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाएका छन् ।

laxmi

बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन कार्कीले मिटरब्याजपीडितहरु धेरै दिनको यात्रा गरेर न्यायको खोजीमा काठमाडौँ आएकाले तिनलाई न्याय दिन आग्रह गरे ।

नेकपा (एमाले)का सांसद सुनिता बरालले पीडित नागरिक आफ्ना माग बोकेर सरकारलाई सुनाउन हप्तौँ हिँडेर काठमाडौँ आउनु दुःखको कुरा भएको बताईन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले गुठी, वन, विद्यालयलगायत विभिन्न खालका जमिनमा जनताले भोगचलन गर्दै आएकाले उनीहरूले आफ्नो जग्गाको जग्गाधनीपुर्जा लिन नपाएको बताईन् । उनले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुङ्गो लगाउन माग गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले कुन अस्पतालमा राम्रो उपचार पाउँछ भनेर तड्पिनुपर्ने र पाँच गुणासम्म बढी महँगो शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गरिन् ।

जनता समाजवादी पार्टीका सांसद रेखा यादवले विराट जुटमिलमा आगलागी हुँदा धेरै क्षति भएको भएकाले उचित क्षतिपूर्ति दिन आग्रह गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले भूमिहीन किसानले उपभोग गर्दै आएको जग्गा सरकारी निकाय र मन्दिरका नाममा राखिएकामा चासो व्यक्त गरे ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले गठबन्धनका बैठकमा विपक्षीलाई कसरी प्रतिरोध गर्नेभन्दा पनि कसरी देश बनाउने भन्ने विषयमा छलफल हुनुपर्नेमा जोड दिए ।

नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, आम जनता पार्टीका प्रभु साह, सांसद डा अमरेशकुमार सिंहलगायत उक्त विशेष समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL