काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुको वित्तीय विवरणमा सुधार देखिएको छ । लघुवित्त कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सुधारको संकेत देखिएको हो ।
हालसम्म नेप्सेमा सूचीकृत १० लघुवित्तको सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीहरुको नाफालगायतको प्रमुख सूचकहरु बढेका छन् । तथापि, १० वटा कम्पनीहरुको मात्रै विवरण हेरेर लघुवित्तमा सुधारको संकेत देखिएको यकिन गर्न भने मिल्दैन । किनकि अहिले नेप्सेमा ५० लघुवित्त कम्पनीहरु सूचीकृत छन् ।
हेरौं, कुन लघुवित्तको कस्तो अवस्था ?
चुक्ता पुँजीमा आरएसडिसी लघुवित्त अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने १० लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी आरएसडिसी लघुवित्त रहेको छ । एक वर्षमा यसको चुक्ता पुँजी ९.५० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा कम समाज लघुवित्तको पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।

खुद ब्याज आम्दानीमा इन्फिनिटी लघुवित्त अगाडि
वित्तीय विवरण सार्वजनिक गर्ने १० लघुवित्तमध्ये सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा इन्फिनिटी लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशतले बढेर ४० करोड ४९ लाख ६९ हजार पुगेको छ । यसअवधिमा आरएसडिसी लघुवित्त बाहेक अरु ९ वटै कम्पनीहरुको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा थोरै खुद ब्याज आम्दानी आर्जन गर्नेमा समाज लघुवित्त रहेको छ ।

८ लघुवित्तको नाफा बढ्यो, २ को घट्यो
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने १० लघुवित्त कम्पनीहरुमध्ये ८ लघुवित्तको नाफा बढेको छ भने २ को घटेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा महुली लघुवित्त रहेको छ । यसले ११ करोड ४५ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानीमा समाज लघुवित्त अगाडि
गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी समाज लघुवित्तको रहेको छ । एक वर्षमा यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६५ पैसाले बढेर ६२ रुपैयाँ १० पैसा पुगेको छ । यसअवधिमा आरएसडिसीबाहेक सबै लघुवित्तको प्रतिसेयर आम्दानी बढेको छ ।
