काठमाडौं । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मार्फत यस्तो व्यवस्था गरेको हो ।
यस व्यवस्थासँगै संस्थापक सेयरधनीले लाभांश प्राप्त गर्न उनीहरूले आफ्नो संस्थापक सेयरको हिस्सा घटाएर कम्तीमा २५ प्रतिशतभन्दा कम कायम गर्नुपर्नेछ ।
‘‘घ वर्गको संस्थाको हकमा उपर्युक्तबमोजिमको सीमालाई क्रमशः २५ र १० प्रतिशत लगानी गर्न सकिने विद्यमान व्यवस्थाभन्दा बढी हुने गरी संस्थापक सेयर धारण गर्ने संस्थापक सेयरधनीलाई तोकिएको सीमा कायम नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्न लगाउने,’ कार्यविधिमा भनिएको छ ।
उल्लेखित लगानी सीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापक भई लगानी गर्दा लागू नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।
कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने यसअघिको व्यवस्था भने कायमै छ । २०७७ को कार्यविधि प्रतिस्थापन गर्दै राष्ट्र बैंकले नयाँ कार्यविधि जारी गरेको हो ।