Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च तेब्बर, सेवा खाता घाटा निरन्तर उकालो लाग्दै

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च तेब्बर, सेवा खाता घाटा निरन्तर उकालो लाग्दै



काठमाडौं । अंग्रेजी बर्ष २०२३ मा मात्रै १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रले पुनः फड्को मारेको र सन २०१९ पश्चात पहिलोपटक एकै बर्ष १० लाख पर्यटक आएको भन्दै सरकारदेखि सम्बन्धित नकायहरु पनि उत्साहित देखिए । नेपालको अर्थतन्त्रमा वैदेशिक मुद्रा आर्जनको मुख्य आधार रहेको पर्यटन क्षेत्रका लागि पर्यटक बढ्नु सुखद विषय पनि हो ।

laxmi

विदेशी पर्यटक नेपाल भित्रिएको अवस्थामा पर्यटकबाट हुने आम्दानी वृद्धि हुने र अर्थतन्त्रमा योगदान पुग्ने विषय स्वभाविक नै हो । तर, पछिल्लो समय पर्यटक आगमन र आम्दानीबीच भने तादात्म्यता देखिँदैन । पर्यटन आवागमन बढेपछि उत्साहित हुनुपर्ने अवस्थामा पर्यटन क्षेत्रबाट हुने आम्दानीमा भने नैराश्यता छाएको देखिन्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२३ मा सन २०१९ कै बराबर पर्यटक भित्रिए । चीनतर्फका नाका सहज हुँदा चिनियाँसँगै अन्य पर्यटकको आवागमन नेपालमा बढ्यो । तर, बिदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपालीले विदेश घुम्न लिएको खर्च बढी हुँदा यसले अर्थतन्त्रमा खासै ठूलो अर्थ राखेन ।

यता नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक बर्षको ६ महिनामा मात्रै नेपालमा आउने विदेशीले गरेको खर्चभन्दा नेपालीले विदेश गएर गरेको खर्च ५ अर्ब ३३ करोड रुपैयाँले बढी छ । अर्थात चालु आवको पछिल्लो ६ महिनामा विदेशबाट आउने पर्यटकले नेपालमा ३ अर्ब ९५ करोड ५६ लाख रुपैयाँ मात्रै खर्च गर्दा नेपालीहरुले विदेश गएर ९ अर्ब २८ करोड ७४ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । अर्थात विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च तेब्बरले बढी हो ।

यसले देशको भुक्तानी सन्तुलनमा ठूलो असर गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय धेरैजसो नेपालीहरु घुम्न भन्दा पनि काम गर्नका लागि र पढ्नका लागि धेरैजसो नेपालीहरु विदेश जाँदा नेपालमा आउने पर्यटकले गर्ने खर्चभन्दा बढी खर्च भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

विदेशी राष्ट्रहरुले पर्यटन आवागमन बढाउन गरेको पूर्वाधारमा लगानीको तुलनामा नेपालमा हुने लगानी नगण्य छ । जसका कारण पछिल्लो समय भनेबमोजिम पर्यटन क्षेत्रमा लगानी बढाउन सकिएको छैन । यसरी लगानी बढाउन नसक्दा जुन रुपमा पर्यटक आवागमन बढ्नुपर्ने हो सोहीअनुसार नबढेको उनको बुझाई छ । ‘पर्यटन क्षेत्रका विभिन्न आयाममध्ये हामीले खेल पर्यटनमै पर्यटक आवागमन बढाउन सकेको खण्डमा मात्रै पनि हामीलाई धेरै फाईदा पुग्ने थियो,’ उनले भने, ‘तर, खेल पूर्वाधारका लागि मात्रै पनि हामी विदेशी लगानीको मुख ताकेर बसिरहेका छौं ।’

अध्यागमन विभागकै तथ्यांकलाई आधार मान्दा प्रतिमहिना करिव २ लाख जना नेपाल भित्रिँदा ४ लाख हाराहारीमा बाहिरिन्छन् । यसरी विश्वका धेरै देशमा नेपालीहरु प्रतिमहिना नै ३ देखि ४ लाखको हाराहारीमा जाँदा उनीहरुले गर्ने हवाई टिकट, भिजा शुल्कलगायत उच्च हुन्छ । जसका कारण यसले नेपालको भुक्तानी सन्तुलनमा असर गर्छ ।

तर, पछिल्लो समय पर्यटन आवागमन बढेसँगै केहि खुसीयाली हुने ठाउँ भने रहेको थापा बताउँछन् । ‘धन्न पछिल्लो ६ महिनामा करिव ४ अर्ब रुपैयाँ पर्यटन आवागमनबाट आम्दानी भयो,’ उनले भने, ‘यहि पनि नभएको भए नेपालको सेवा खातामा झन ठूलो खाडल बन्थ्यो ।’

कुनैबेला नेपालको सेवा खाता नाफामा हुन्थ्यो । अर्थात २०७५ सम्म नेपालको सेवा खाता निरन्तर नाफामा भएपछि त्यसयता विदेश पढ्न या काम गर्न जाने प्रवृत्ति बढेसँगै सेवा खाता घाटामा जाने गरेको छ । गत आर्थिक बर्ष २०७९/८० मा मात्रै नेपालको सेवा खाता कुल ८ अर्ब २९ करोड रुपैयाँले घाटामा थियो । त्यसको अघिल्लो आव २०७८/७९ मा भने नेपालको सेवा खाता ६ अर्ब ४८ करोड रुपैयाँले घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL