Logo

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् ।

“न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ १” उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ ।

एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ । ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए, तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् ।

गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् ।

ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् ।

एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए ।

सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्