काठमाडौं । अब बैंकहरुले मुस्ताङको कोरला नाकाबाट वस्तु आयातका लागि पनि प्रतितपत्र (एलसी) खोल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै वस्तु आयातका लागि तातोपानी, रसुवा र मुस्ताङ नाकाबाट वस्तु आयातका लागि एलसी खोल्न निर्देशन दिएको हो ।
खासगरी पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बाढी, पहिरोका कारण अवरुद्ध भएपछि नेपाल आउन लागेका करिव १३ सय बढी कन्टेनर चीनतर्फ नै रोकिएका छन् । दशैंलगायतका लागि आवश्यक सामग्री पारी नै रोकिएपछि नेपाली व्यवसायीहरुले विकल्पका रुपमा मुस्ताङको कोरोला नाका संचालनमा ल्याउन आग्रह गरेपछि उक्त नाका संचालनमा आएको छ ।
यसै कुरालाई ध्यानमा राख्दै राष्ट्र बैंकले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतितपत्रमार्फत आयात गर्दा मुस्ताङ नाकाबाट पनि आयात गर्न सकिने बताएको हो ।