Logo

राष्ट्र बैंकको नीतिले मार्जिन कर्जा प्रवाहमा वृद्धि भएपनि देखिएन सेयर बजारमा सुधार, यस्तो छ लगानीकर्ताको विश्लेषण

राष्ट्र बैंकको नीतिले मार्जिन कर्जा प्रवाहमा वृद्धि भएपनि देखिएन सेयर बजारमा सुधार, यस्तो छ लगानीकर्ताको विश्लेषण



काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१को दुई महिनामा बैंकहरुले सेयर धितोकर्जाका लागि दिने मार्जिन प्रवृद्धिको कर्जा बढेको छ । दुई महिनाको अवधिमा यस्तो कर्जा १.८ प्रतिशतले बढेको हो ।

laxmi

पछिल्लो समय घट्दै आएको मार्जिन कर्जा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लिएको खुकुलो नीतिका कारण बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा सतप्रतिशत जोखिम भार कायम गरेको थियो । राष्ट्र बैंकको यो व्यवस्था लागू भएसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिने लगानीकर्ताको बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

केन्द्रिय बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांक अनुसार २५ लाख देखी ५० लाखसम्म सेयर कर्जा दुई महिनामा ८.६ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १३ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तसम्म यो शीर्षकमा १२ अर्ब ७८ करोड रुपैयाँ प्रवाह भएको थियो ।

यसैगरी, १ करोड रुपैयाँ भन्दा धेरै कर्जा पनि १.३ प्रतिशतले बढेको छ । यस अवधिमा २५ लाखसम्म कर्जा प्रवाह पनि १.७ प्रतिशतले बढेको छ । भदौसम्म ५० लाख देखि १ करोड रुपैयाँसम्म कर्जा लिने लगानीकर्ताको संख्यामा भने केहि कमि आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । चालु आवको २ महिना मार्निन कर्जा कुल १ अर्ब ३७ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बढेर ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

दुई महिनाको अवधिमा मार्जिन प्रवृत्तिको कर्जा जाने क्रम बढेको भएता पनि सेयर बजार भने बढ्न सकेको छैन । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन असार ३१ गते २०९७ बिन्दुमा रहेको नेप्से सूचक कात्तिक १२ गतेसम्म आउँदा २ सय २२ अंकले घटेर १८७५ बिन्दुमा आईपुगेको छ । दुई महिनाको अवधीमा नेप्से सूचक २ सय २२ अंकले घटेको नेपाल स्टक एक्स चेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले केहि नीतिमा लचिलो बन्दा सेयर बजार बढ्ने अनुमान गरिएको थियो । तर, राष्ट्र बैंकको नीति लचिलो बन्दा पनि सेयर बजार बढ्न नसक्नुको कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी र नेपाली पुँजी बजारमा आएको आईपीओ र हकप्रद सेयर रहेको सम्बन्धित जानकारहरु बताउँछन । ‘नेपालको सेयर बजारमा मागको तुलनामा धितोपत्र बोर्डले अनावश्यक रुपमा हकप्रद र आईपीओ जारीका लागि स्वीकृति दियो,’ एक लगानीकर्ताले भने, ‘पछिल्लो धितोपत्र बोर्डले लिक्वुडेशनमा जान लागेको कम्पनीलाई समेत आईपीओ जारी गर्न स्वीकृति दिन थालेपछि लगानीकर्ताको मनोबल खस्कियो जसको फलस्वरुप अहिले लगातार बजार घटिरहेको छ ।’

पछिल्लो समय धितोपत्र बोर्डले कागजी प्रक्रिया पुर्याएर बन्द हुने अवस्थामा पुग्न लागेको कम्पनीलाई साधारण आईपीओ र घाटामा जान लागेको कम्पनीलाई हतार हतारमा प्रिमिय मूल्यमा आईपीओ जारी गर्न स्वीकृति दिँदै आएको एक लगानीकर्ताले बताए । ‘सेयर बजार भनेको लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्दछ तर अहिले सेबोनले जसरी आईपीओका लागि स्वीकृति दिँदै आएको छ त्यसप्रति लगानीकर्ताहरु सशंकित भएका छन्,’ ती लगानीकर्ताले भने, ‘जसको असर अहिले सेयर बजारमा देखिएको छ ।’ साथै सेबोनले डुब्न लागेका कम्पनीलाई सेयर बजारमा प्रवेश दिएका कारण अबका दिनमा राष्ट्र बैंकले सेयर धितो कर्जाको पुरै सीमा खोलिदिएपनि बजारले गति लिन कठिन हुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL