Logo

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण अन्तर्गत आइतबार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । आइतबार बैंकहरुले २ खर्ब ४८ अर्ब ६० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत १७ अर्ब ५ करोड निक्षेप गरी कुल २ खर्ब ६५ अर्ब ६५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका हुन् ।

चालु आर्थिक वर्षको भदौ २२ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ५४ अर्ब रुपैयाँभन्दा धेरै रकमको स्थायी निक्षेप सुविधा लिइसकेका छन् । राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन प्रभावकारी बनाउन गत फागुनदेखि बैैंक, वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपका रुपमा राख्न पाउने गरी स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै जाने तर कर्जाको माग नबढेपछि बैंकहरुले अल्पकालीन उपकरणहरुमा लगानी गरेरै भए पनि आम्दानी बढाउन लागेका हुन् । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा बैंकहरुलाई हरेक आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने प्रावधान छ । स्थायी निक्षेप सुविधामा जम्मा भएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइदैन् । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने व्यवस्था रहेको छ ।

यस्तै, केन्द्रीय बैंकले आइतबार मात्रै २५ अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाले १७ अर्ब ५ करोडमात्रै २१ दिनका लागि राष्ट्र बैंकमा जम्मा गरेका छन् । जसको औसत ब्याजदर २.७४ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५६ खर्ब ८ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.३२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्