Logo

आर्थिक मन्दी बढेपछि उद्योगी व्यवसायीले लिन छाडे ऋण, १२.५ प्रतिशतको लक्ष्य ३.८ प्रतिशत मात्रै प्रवाह

आर्थिक मन्दी बढेपछि उद्योगी व्यवसायीले लिन छाडे ऋण, १२.५ प्रतिशतको लक्ष्य ३.८ प्रतिशत मात्रै प्रवाह



काठमाडौं । बैंकमा लगानीयोग्य पुँजी फालाफाल भएपनि उद्योगी व्यवसायीले भने ऋण लिन छाडेका छन । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लक्ष्य १२.५ प्रतिशत राखेकोमा ३.८ प्रतिशतमात्र कर्जा लगानी गरेका छन् ।

laxmi

अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीले थप लगानी नगर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको सम्बद्व बैंकरहरू बताउँछन् । बढ्दो आर्थिक मन्दी र वस्तुको मागमा संकुचन आउँदा उद्योगी व्यवसायी नयाँ लगानी गर्नै र भएकै लगानीमा थप लगानी गर्न हच्किएका छन् । जसका कारण गत आर्थिक बर्ष राष्ट्र बैंकले लिएको लक्ष्यअनुसार कर्जा प्रवाह हुनै नसकिएको देखिएको छ ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL