Logo

मूल्यवृद्धिको मारमा उपभोक्ता : सरकारी लक्ष्य नाघ्दै मूल्यवृद्धि साढे ८ प्रतिशत माथि

मूल्यवृद्धिको मारमा उपभोक्ता : सरकारी लक्ष्य नाघ्दै मूल्यवृद्धि साढे ८ प्रतिशत माथि



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपाली उपभोक्ताहरुले साढे ८ प्रतिशत माथिको मूल्यवृद्धि भोगिसकेका छन् । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमै सिमित राख्ने लक्ष्य अघि बढाएपनि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्दा मुल्यवृद्धि लक्ष्यभन्दा माथि पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ११ महिनाको तथ्यांक अनुसार चालु आवको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ५६ प्रतिशत पुगेको छ ।

laxmi

गत आर्थिक बर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशतमा सिमित थियो । राष्ट्र बैंकका अनुसार जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव ४४ प्रतिशत पुगेको छ ।

२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२ दशमलव ६० प्रतिशत, ११ दशमलव २२ प्रतिशत, ९ दशमलव ७० प्रतिशत, ९ दशमलव ६८ प्रतिशत र ९ दशमलव १३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २५ दशमलव ७९ प्रतिशत, ११ दशमलव ६४ प्रतिशत, ८ दशमलव ३० प्रतिशत, ८ दशमलव २१ प्रतिशत र ७ दशमलव ८४ प्रतिशत रहेको छ । जेठ महिनामा काठमाडौं उपत्यकामा ८ दशमलव ३२ प्रतिशत, तराईमा ८ दशमलव २९ प्रतिशत, पहाडमा ९ दशमलव २८ प्रतिशत र हिमालमा ८ दशमलव ९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३ दशमलव ८७ प्रतिशत, ४ दशमलव ४७ प्रतिशत, ४ दशमलव ३२ प्रतिशत र १ दशमलव ७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL