Logo

मिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा

मिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा



काठमाडौं । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै मिनि आईपीओको प्रचारप्रसार गर्दै आएको सगुनले गैरकानूनी काम गरेको भेटिएको छ । अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्ट (व्यक्तिगत लगानी) को लागि दर्ता भएको सगुनले नेपालमा आएर मिनि आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रुपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको पत्ता लागेको हो ।

सगुन सन् २०१५ मा प्राईभेट प्लेसमेन्टका लागि अमेरिकी सेक्युरिटी एक्स्चेञ्जमा दर्ता भएको थियो । तर सगुनले अमेरिकामा दर्ता भएकै आधारमा विश्व रहेका नेपालीलाई लक्षित गर्दै मिनि आईपीओको नाममा सार्वजनिक रुपमा सेयर निष्काशन गर्दै आएको छ । कानुन त सगुनले अमेरिकामा रहेका अमेरिकी नागरिकलाई उक्त सेयर बिक्री गर्न पाउने छ । तर सगुनले अमेरिकामा दर्ता भएको कम्पनीले विश्वभरबाट सेयर जारी गर्न पाउने भन्दै धितोपत्र सम्बन्धी कानून विपरित नेपालमा आएर खुलेआम प्रचार प्रसार गर्दै आएको छ ।

नेपाल भित्रबाट सेयर जारी गर्न वा नेपालबाट आईपीओका लागि प्रचारप्रसार गर्न नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने हुन्छ । तर सगुनले अमेरिकामा दर्ता भएको कम्पनी भन्दै नेपालको कानुन विपरित खुलेआम सेयर बिक्रीको प्रचार प्रसार गर्दै आएको छ ।

सगुन आफैले आफुहरु अमेरिकी कानुनअनुरुप अमेरिकाको धितोपत्रसम्बन्धी आयोगमा दर्ता भएर रेग ए अन्तरगत प्राईभेट प्लेसमेन्टबाट पूँजी संकलन गर्न आधिकारिक रुपमा अनुमति प्राप्त गरेको बताउँदै आएको छ । तर उसले उक्त सेयर अमेरिकी नागरिकलाई बिक्री नगरी विश्वभरि रहेका नेपालीलाई लक्षित गर्दै बिक्री गर्दै आएको बताएको छ । यस्ता कम्पनीको विश्वासनीयता कम हुने र त्यसरी दर्ता भएको कम्पनीमा अमेरिकी नागरिकले लगानी नगर्ने भएपछि उनीहरुले नेपालीले संचालन गरेको कम्पनी भन्दै नेपालीलाई लक्षित गरी मिनि आईपीओको नाममा सेयर बिक्री गरिरहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सगुनले नेपाली राहदानी बाहक विदेशमा रहेका नेपालीहरुलाई समेत उक्त सेयर बिक्री गर्न पाउँदैन । यसरी सगुनले विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गर्दा नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारले पठाउँदै आएको रेमिटान्स रकम समेत नेपाल नआई सगुनको मिनि आईपीओको नाममा होल्ड भएर बस्छ । अर्कोतर्फ नेपाली राहदानी बाहक नेपालीलाई नेपाली कानुनले संरक्षण गर्नुपर्छ । अमेरिकाको धितोपत्र सम्बन्धी आयोगमा दर्ता भएकै आधारमा सगुनले नेपालमा आएर मिनि आईपीओको नाममा प्रचारप्रसार तथा विदेशमा रहेका नेपालीलाई समेत खुलेआम सेयर बिक्री गर्न नपाउने एक कानुन व्यवसायीले बताए । ‘सगुनले भनेको अमेरिकी कानुन अनुसार प्राईभेट प्लेसमेन्ट अनुरुप रकम जुटाउनका लागि अमेरिकामा दर्ता भएको कम्पनी हो,’ ती कानून व्यवसायीले भने, ‘जसरी उसले नेपालमा आएर विश्वभर रहेका नेपालीले लगानी गर्न पाउने भन्दै शब्दको अपब्याख्या गर्दै मिनि आईपीओमा नाममा प्रचारप्रसार गर्दै आएको त्यसलाई धितोपत्र बोर्डले आफ्ना लगानीकर्ताको संरक्षणका लागि पनि तत्काल रोक लगाउनुपर्छ ।’

यसैगरी नेपाली पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि सगुनले नेपालमा आएर खराब नियतका साथ मिनि आईपीओको नाममा प्रचारप्रसार गर्दै आएको हुँदा छानविनको दायरामा ल्याइएको जानकारी दिएको छ । जुन देशका नागरिकले उक्त कम्पनीमा लगानी नै गर्न पाउँदैन भने सोही देशमा आएर उसले बढी मात्रामा प्रचार प्रसार गर्दै आएको हाल त्यसलाई छानविनको दायरामा ल्याइएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘पहिलो कुरा जुन देशका नागरिकले उक्त सेयरमा आवेदन नै दिन पाउँदैनन् भने उसले नेपालबाट नेपालीको लागि भनेर किन प्रचारप्रसार गर्दै आएको त्यसविषयमा छानविन थाएिको छ,’ उनले भने, ‘दोस्रो उसले मिनि आईपीओ नाममा हुण्डीको कारोबार गरेको बुझिन आएको त्यस विषयमा समेत छानविन गर्न अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेका छौं ।’

सगुनले अमेरिकी कानुनको आडमा नेपालमा आएर खुलेआम मिनि आईपीओको नााममा प्रचार प्रसार गर्न नपाउने समेत बोर्डको भनाई रहेको छ । ‘अमेरिकाको कानुन अनुसार दर्ता भएर नेपालमा प्रचारप्रसार गर्न पाहिने भए नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसीसी) अन्तरगतको अनुदान रकम स्वीकृति भैसक्थ्यो किन संसदबाट स्वीकृति लिनु पदथ्यो,’ ती सदस्यले भने, ‘अमेरिकाको कानुन अनुरुप दर्ता भएको कम्पनीले अमेरिकामै रहेर सेयर जारी गर्ने हो नेपालमा आएर होइन, यदि नेपालबाट सेयर जारी गर्ने वा यहाँ आएर प्रचार प्रसार गर्ने हो भने नेपाली कानुन अनुसार दर्ता हुनुपर्छ ।’

अर्कोतर्फ नेपालको धितोपत्र सम्बन्धी कानुन अनुसार कुनै पनि कम्पनीले नेट वर्थको दुई गुणाभन्दा बढीमा सेयर बिक्री गर्न पाउने छैन । तर, सगुनकै प्रकाशित विवरण अनुसार आम्दानी नै नभएको उक्त कम्पनीको प्रति सेयर नेट वर्थको करिव ३ लाख गुणा महङ्गोमा सेयर बिक्री गर्दै आएको छ । हाल सगुनको अंकित मूल्य ०.०००१ अमेरिकी डलर मात्र रहेको छ । तर उसले उक्त सेयर प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ । समुह सी अन्तरगत जारी भएको उक्त सेयरको प्रति १० कित्ता बराबर १ मताधिकार मात्र रहेको छ ।

सन् २०१७ मा सगुनले प्रतिकित्ता २३ अमेरिकी डलरमा सेयर बिक्री गरेको थियो । उसले त्यतिवेला सेयर बिक्रीबाट २० मिलियन डलर उठाउने लक्ष्य लिएपनि उक्त कम्पनी माथि विश्वसनियता नभएपछि ४ दशमलव ६ मिलियन डलर मात्र उठाउन सफल भएको थियो । तर अहिले उसले कम्पनीका मुल्य बढेको भन्दै आफुखुशी सेयरको मुल्य बढाएर लगानीकर्तालाई आकर्षित गर्न प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ ।

जुन २०१९ सम्म सेयर प्रिमियम अन्तर्गत संकलन गरेको ८१ लाख ८८ हजार १ सय ४७ अमेरिकी डलर रकम र कुल चुक्ता पूँजी ३ सय ७१ डलरमा संचित नोक्सानी बापतको ९१ लाख १६ हजार ६ सय ९० डलरले गर्दा खुद सम्पत्ति ९ लाख २८ हजार १ सय ७२ डलरले ऋणात्मक रहको छ । जस अनुरुप प्रिमियम भुक्तानी गर्ने सेयरधनीहरुको चुक्ता पूँजी ३५ डलर अर्थात कम्पनीको कुल सेयरको १ दशमलव ४६५ हिस्सा मात्र रहन आउँछ ।

हाल सगुनले स्टार्टअप कम्पनी भन्दै आफुलाई प्रचारप्रसार गर्दै आएको छ । तर उक्त कम्पनी सन् २००६ मा दर्ता भएको र १४ बर्षसम्म कुनै पनि कम्पनी स्टार्टअपको रुपमा रहन नसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सगुन लगातार ५ बर्ष घाटा गएको, प्रति सेयर मुल्य ०.०००१ डलर रहेको सो कम्पनीले प्रति सेयर २ लाख ९९ हजार ९ सय ९९ गुणा प्रीमियम तिरेर सोझा साझा र देश बिदेशमा बसेका नेपालीलाई गुगल र फेसबुक सँग तुलना गरेर भ्रामक प्रचार प्रसार गर्दै सेयर बिक्री गर्दै आएको समेत सम्बद्ध सरोकारवालाहरुले जानकारी दिएका छन् ।

नेपालीहरुले आईपीओ भन्ने वित्तिकै लगानी गर्ने भएकाले पनि उनीहरुको टार्गेटमा नेपाली रहेको छ । यस अघि जारी गरेको सेयरमा पनि नेपालीहरुकै बढी लगानी रहेको छ । सगुनले सोझासाझा नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने नाममा ठगी गर्दै आएको समेत सम्बद्ध पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL