Logo

आईपीओको नाममा गैर कानुनी धन्दा चलाउँदै आएको सगुनलाई नेपालमा प्रचारप्रसार गर्न रोक, हुण्डीको छानविन गर्न राष्ट्र बैंकलाई पत्राचार

आईपीओको नाममा गैर कानुनी धन्दा चलाउँदै आएको सगुनलाई नेपालमा प्रचारप्रसार गर्न रोक, हुण्डीको छानविन गर्न राष्ट्र बैंकलाई पत्राचार



काठमाडौं । मिनी आईपीओको नाममा नेपालमा हुण्डी लगायत गैरकानूनी धन्दा संचालन गर्दै आएको सगुनलाई नेपाल धितोपत्र बोर्डले त्यस्ता प्रचारप्रसारमा रोक लगाउने भएको छ । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै सगुनले मिनि आईपीओको नाममा गैर कानूनी रुपमा प्रचारप्रसार गर्दै आएको भेटिएपछि रोक लगाउने निर्णय भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘बोर्डले लामो समय लगाएको गरेको अनुसन्धानले सगुनले नेपालमा गैर कानूनी रुपमा मिनी आईपीओ नाममा प्रचार प्रसार गरेको, हुण्डी लगायतका कार्यमा संलग्न भएको पाएका छौं,’ उनले भने, ‘यस विषयमा बोर्डमा छलफल भएर निर्णय नै भैसकेको छ केही दिनभित्रै सगुनलाई नेपालबाट मिनी आईपीओको नाममा प्रचार प्रसार गर्न रोक लगाउने गरी सुचना प्रकाशित गर्ने छौं ।’ साथै सगुनले ल्याएको मिनी आईपीओमा लगानीकर्ताहरु फस्ने भएकाले त्यस्ता कम्पनीले गरेका कुनै पनि विज्ञापनको प्रलोभनमा परी लगानी नगर्न समेत नेपाली नागरिकहरुलाई सुसुचित गरिने ढुंगानाले जानकारी दिए ।

अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्ट (व्यक्तिगत लगानी) को लागि दर्ता भएको सगुनले नेपालमा आएर मिनि आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रुपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको थियो । तर सगुनले अमेरिकामा दर्ता भएकै आधारमा विश्व रहेका नेपालीलाई लक्षित गर्दै मिनि आईपीओको नाममा सार्वजनिक रुपमा सेयर निष्काशन गर्दै आएको छ ।

अर्कोतर्फ नेपालको धितोपत्र सम्बन्धी कानुन अनुसार कुनै पनि कम्पनीले नेट वर्थको दुई गुणाभन्दा बढीमा सेयर बिक्री गर्न पाउने छैन । तर, सगुनकै प्रकाशित विवरण अनुसार आम्दानी नै नभएको उक्त कम्पनीको प्रति सेयर नेट वर्थको करिव ३ लाख गुणा महङ्गोमा सेयर बिक्री गर्दै आएको छ । हाल सगुनको अंकित मूल्य ०.०००१ अमेरिकी डलर मात्र रहेको छ । तर उसले उक्त सेयर प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ । समुह सी अन्तरगत जारी भएको उक्त सेयरको प्रति १० कित्ता बराबर १ मताधिकार मात्र रहेको छ । सगुनको मिनी आईपीओ र यस अघि समस्यामा परेको युनिटीको प्रकृति उस्तै उस्तै भएको र यसबाट जनता ठगिने सम्भावना उच्च रहेको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सन् २०१७ मा सगुनले प्रतिकित्ता २३ अमेरिकी डलरमा सेयर बिक्री गरेको थियो । उसले त्यतिवेला सेयर बिक्रीबाट २० मिलियन डलर उठाउने लक्ष्य लिएपनि उक्त कम्पनी माथि विश्वसनियता नभएपछि ४ दशमलव ६ मिलियन डलर मात्र उठाउन सफल भएको थियो । तर अहिले उसले कम्पनीका मुल्य बढेको भन्दै आफुखुशी सेयरको मुल्य बढाएर लगानीकर्तालाई आकर्षित गर्न प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ ।

यसैगरी अनुसन्धानको क्रममा सगुनले हुण्डीको काम समेत गरेको भेटिन आएकाले सो सम्बन्धमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनका लागि राष्ट्र बैंकलाई पत्राचार गर्न लागिएको समेत ढुंगानाले जानकारी दिए । यस अघि सगुनले हुण्डी कारोबार गरेको आरोपमा बोर्डले नेपाल प्रहरीको अपराध महाशाखालाई अनुसन्धान गर्न पत्र लगेको थियो । हाल त्यसैको आधारमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन राष्ट्र बैंकलाई पत्राचार गर्न लागिएको समेत उनले जानकारी दिए ।

हाल सगुनले स्टार्टअप कम्पनी भन्दै आफुलाई प्रचारप्रसार गर्दै आएको छ । तर उक्त कम्पनी सन् २००६ मा दर्ता भएको र १४ बर्षसम्म कुनै पनि कम्पनी स्टार्टअपको रुपमा रहन नसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सगुन लगातार ५ बर्ष घाटा गएको, प्रति सेयर मुल्य ०.०००१ डलर रहेको सो कम्पनीले प्रति सेयर २ लाख ९९ हजार ९ सय ९९ गुणा प्रीमियम तिरेर सोझा साझा र देश बिदेशमा बसेका नेपालीलाई गुगल र फेसबुक सँग तुलना गरेर भ्रामक प्रचार प्रसार गर्दै सेयर बिक्री गर्दै आएको समेत सम्बद्ध सरोकारवालाहरुले जानकारी दिएका छन् ।

कानुन त सगुनले अमेरिकामा रहेका अमेरिकी नागरिकलाई उक्त सेयर बिक्री गर्न पाउने छ । तर सगुनले अमेरिकामा दर्ता भएको कम्पनीले विश्वभरबाट सेयर जारी गर्न पाउने भन्दै धितोपत्र सम्बन्धी कानून विपरित नेपालमा आएर खुलेआम प्रचार प्रसार गर्दै आएको छ ।

नेपाल भित्रबाट सेयर जारी गर्न वा नेपालबाट आईपीओका लागि प्रचारप्रसार गर्न नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने हुन्छ । तर सगुनले अमेरिकामा दर्ता भएको कम्पनी भन्दै नेपालको कानुन विपरित खुलेआम सेयर बिक्रीको प्रचार प्रसार गरेपछि बोर्डले रोक लगाउने निर्णय गरेको हो ।

सगुनले नेपाली राहदानी बाहक विदेशमा रहेका नेपालीहरुलाई समेत उक्त सेयर बिक्री गर्न पाउँदैन । यसरी सगुनले विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गर्दा नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारले पठाउँदै आएको रेमिटान्स रकम समेत नेपाल नआई सगुनको मिनि आईपीओको नाममा होल्ड भएर बस्छ । अर्कोतर्फ सगुनले नेपालबाट लगानी गर्न नपाउने भएपनि नेपालीसँग पैसा संलकलन गरेको विदेशमा रहेको उनीहरुको नाममा लगानी गराउँदै आएको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

अर्कोतर्फ नेपाली राहदानी बाहक नेपालीलाई नेपाली कानुनले संरक्षण गर्नुपर्छ । अमेरिकाको धितोपत्र सम्बन्धी आयोगमा दर्ता भएकै आधारमा सगुनले नेपालमा आएर मिनि आईपीओको नाममा प्रचारप्रसार तथा विदेशमा रहेका नेपालीलाई समेत खुलेआम सेयर बिक्री गर्न नपाउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी सगुनले पनि नेपालबाट तत्कालका लागि मिनी आईपीओको प्रचारप्रसारलाई रोक लगाएर ग्रोथ क्याप्पेन सुरु गरिएको सगुन नेपालका प्रमुख आनन्द बज्राचार्यले बताए । ‘मिनी आईपीओको विषयमा केही अस्पष्ट भएकाले तत्कालका लागि प्रचारप्रसारलाई स्थगित गरेका छौं,’ उनले भने, ‘यस विषयमा थप राय लिएर अघि बढ्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL