Logo

बिजखबर फलोअप : सगुनलाई नेपालमा आईपीओको प्रचारप्रसार गर्न धितोपत्र बोर्डको प्रतिबन्ध, हुण्डी अन्तरगत कारबाही गरिने

बिजखबर फलोअप : सगुनलाई नेपालमा आईपीओको प्रचारप्रसार गर्न धितोपत्र बोर्डको प्रतिबन्ध, हुण्डी अन्तरगत कारबाही गरिने



काठमाडौं । अमेरिकन नेटवर्किङ कम्पनी सगुनलाई नेपालीलाई लक्षित गर्दै आईपीओको प्रचारप्रचार गर्न प्रतिबन्ध लगाएको छ । मिनी आईपीओको नाममा नेपालमा हुण्डी लगायत गैरकानूनी धन्दा संचालन गर्दै आएको सगुनलाई नेपाल धितोपत्र बोर्डले एक सुचना जारी गर्दैै त्यस्ता प्रचारप्रसार तथा नेपालीलाई लक्षित गरी आईपीओ जारी गर्न रोक लागाएको हो ।

laxmi

नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै सगुनले मिनि आईपीओको नाममा गैर कानूनी रुपमा प्रचारप्रसार गर्दै आएको भेटिएपछि बोर्डले सुचनानै निकालेर रोक लगाएको हो । यस अघि बिजखबरले सगुनले नेपालबाट गैरकानुनी रुपमा आईपीओको नाममा प्रचारप्रसार गरेर नेपालीलाई ठगी गरेको, आईपीओको नाममा हुण्डीमा कारोबारमा संलग्न रहेको, संचालनमा आएदेखि नै घाटामा गएको उक्त कम्पनीले ३ लाख गुणा प्रिमियम जोडेर आईपीओ निकालेको जस्ता समाचार प्रकाशित गरेको थियो । सोही अनुरुप बोर्डले सगुनलाई आईपीओको नाममा संचारमाध्यममार्फत सुचना जारी नगर्न तथा नेपालबाट आईपीओको नाममा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो ।

नेपालमा ‘सगुन’ को गैर कानूनी धन्दा, मिनी आईपीओको नाममा हुण्डीको काम

‘धितोपत्र सम्बन्धी ऐन २०६३ दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९ (१) मा संगठिन संस्थाले एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्रको विक्रीवितरण निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ,’ बोर्डद्वारा जारी सुचनामा उल्लेख छ, ‘बोर्डको स्वीकृति विना नेपालमा धितोपत्र निष्काशन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानीगर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशन पत्रमा मात्र लगानी गर्नुहुन सर्वसाधारणलाई समेत अनुरोध छ ।’ उक्त सुचनाको वेवास्ता गर्दै अबका दिनमा सगुनले आईपीओको नाममा नेपालीलाई लक्षित गरी कुनै गतिविधि गरेमा वा सगुनको कम्पनीको आईपीओमा नेपालीले लगानी गरेमा दुबैलाई धितोपत्र ऐन अनुसार कडा कारबाही गरिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

sagoon_sebon

‘बोर्डले लामो समय लगाएर गरेको अनुसन्धानले सगुनले नेपालमा गैर कानूनी रुपमा मिनी आईपीओ नाममा प्रचारप्रसार गरेको, हुण्डी लगायतका कार्यमा संलग्न भएको, तथा नेपालमा सहायक कम्पनी स्थापना गरेर समेत गैरकानूनी क्रियाकलप गरिरहेको भेटिएको छ,’ बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने, ‘सोही अनुरुप हामीले सगुनको क्रियाकलाप गैरकानूनी रहेको ठहर गर्दै आईपीओ जारी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेका हौं ।’

सगुनले ल्याएको मिनी आईपीओमा लगानीकर्ताहरु फस्ने भएकाले त्यस्ता कम्पनीले गरेका कुनै पनि विज्ञापनको प्रलोभनमा परी लगानी नगर्न समेत नेपाली नागरिकहरुलाई सुचनानै जारी गरेर सुसुचित गरिएको ढुंगानाले जानकारी दिए । ‘बोर्डले कुनै पनि नेपाली नागरिकलाई आईपीओको नाममा गठिन दिँदैन,’ उनले भने, ‘सगुन आफैमा गैरकानूनी रहेको र त्यस्ता कम्पनीमा लगानी गर्दा ठगिने भएकाले लगानीकर्ताको हित संरक्षण गर्नकै लागि मिनी आईपीओको नाममा प्रचारप्रचार तथा अन्य गतिविधि गर्न प्रतिवन्ध लगाएका हौं ।’

मिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा

अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्ट (व्यक्तिगत लगानी) को लागि दर्ता भएको सगुनले नेपालमा आएर मिनि आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रुपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको थियो । तर सगुनले अमेरिकामा दर्ता भएकै आधारमा विश्व रहेका नेपालीलाई लक्षित गर्दै मिनि आईपीओको नाममा सार्वजनिक रुपमा सेयर निष्काशन गर्दै आएको छ । धितोपत्र बोर्डको उक्त सुचना अनुसार कुनै पनि नेपालीले उक्त मिनी आईपीओ खरिद गर्न पाउने छैनन् । हाल सगुनले विदेशमा रहेको नेपालीलाई लक्षित गरेर विज्ञापन तथा आईपीओ वितरण गर्दै आएको छ । तर नेपाल राहदानी बाहक नेपालीलाई नेपालको कानुनले नै संरक्षण गर्ने भएकाले विदेशमा रहेका नेपालीलाई समेत सगुनले आईपीओ विक्री गर्न नपाउने बोर्डको ठहर छ ।

यसैगरी अनुसन्धानको क्रममा सगुनले हुण्डीको काम समेत गरेको भेटिन आएकाले सो सम्बन्धमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनका लागि राष्ट्र बैंकलाई पत्राचार गरिएको समेत ढुंगानाले जानकारी दिए । यस अघि सगुनले हुण्डी कारोबार गरेको आरोपमा बोर्डले नेपाल प्रहरीको अपराध महाशाखालाई अनुसन्धान गर्न पत्र लगेको थियो । हाल त्यसैको आधारमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन राष्ट्र बैंकलाई पत्राचार गरिएको समेत उनको भनाई छ ।

यसरी सगुनले विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गर्दा नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारले पठाउँदै आएको रेमिटान्स रकम समेत नेपाल नआई सगुनको मिनि आईपीओको नाममा होल्ड भएर बस्छ । अर्कोतर्फ सगुनले नेपालबाट लगानी गर्न नपाउने भएपनि नेपालीसँग पैसा संलकलन गरेको विदेशमा रहेको उनीहरुको नाममा लगानी गराउँदै आएको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

आईपीओको नाममा गैर कानुनी धन्दा चलाउँदै आएको सगुनलाई नेपालमा प्रचारप्रसार गर्न रोक, हुण्डीको छानविन गर्न राष्ट्र बैंकलाई पत्राचार

साथै पछिल्लो समय सगुनले नेपालमा सहायक कम्पनी दर्ता गरेर अन्य खालका गैरकानुनी प्रचारप्रसार समेत गर्दै आएको भेटिएकाले सो सम्बन्धमा समेत छानविन गर्न कम्पनी रष्ट्रिारको कार्यालयलाई समेत पत्रचार गरिएको ढुंगानाले जानकारी दिए । ‘विदेशी कम्पनीको नाममा कुनै पनि कम्पनीले नेपालमा आएर नेपालको कानुनभन्दा बाहिर गएर गैरकानूनी क्रियाकलाप गर्न पाउँदैनन्,’ ढुंगानाले भने, ‘यसको लागि अब बोर्ड एक्सनमा उत्रन्छ ।’

अर्कोतर्फ नेपालको धितोपत्र सम्बन्धी कानुन अनुसार कुनै पनि कम्पनीले नेट वर्थको दुई गुणाभन्दा बढीमा सेयर बिक्री गर्न पाउने छैन । तर, सगुनकै प्रकाशित विवरण अनुसार आम्दानी नै नभएको उक्त कम्पनीको प्रति सेयर नेट वर्थको करिव ३ लाख गुणा महङ्गोमा सेयर बिक्री गर्दै आएको छ । हाल सगुनको अंकित मूल्य ०.०००१ अमेरिकी डलर मात्र रहेको छ । तर उसले उक्त सेयर प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ । समुह सी अन्तरगत जारी भएको उक्त सेयरको प्रति १० कित्ता बराबर १ मताधिकार मात्र रहेको छ । सगुनको मिनी आईपीओ र यस अघि समस्यामा परेको युनिटीको प्रकृति उस्तै उस्तै भएको र यसबाट जनता ठगिने सम्भावना उच्च रहेको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सन् २०१७ मा सगुनले प्रतिकित्ता २३ अमेरिकी डलरमा सेयर बिक्री गरेको थियो । उसले त्यतिवेला सेयर बिक्रीबाट २० मिलियन डलर उठाउने लक्ष्य लिएपनि उक्त कम्पनी माथि विश्वसनियता नभएपछि ४ दशमलव ६ मिलियन डलर मात्र उठाउन सफल भएको थियो । तर अहिले उसले कम्पनीका मुल्य बढेको भन्दै आफुखुशी सेयरको मुल्य बढाएर लगानीकर्तालाई आकर्षित गर्न प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ ।

हाल सगुनले स्टार्टअप कम्पनी भन्दै आफुलाई प्रचारप्रसार गर्दै आएको छ । तर उक्त कम्पनी सन् २००६ मा दर्ता भएको र १४ बर्षसम्म कुनै पनि कम्पनी स्टार्टअपको रुपमा रहन नसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सगुन लगातार ५ बर्ष घाटा गएको, प्रति सेयर मुल्य ०.०००१ डलर रहेको सो कम्पनीले प्रति सेयर २ लाख ९९ हजार ९ सय ९९ गुणा प्रीमियम तिरेर सोझा साझा र देश बिदेशमा बसेका नेपालीलाई गुगल र फेसबुक सँग तुलना गरेर भ्रामक प्रचार प्रसार गर्दै सेयर बिक्री गर्दै आएको समेत सम्बद्ध सरोकारवालाहरुले जानकारी दिएका छन् ।

कानुन त सगुनले अमेरिकामा रहेका अमेरिकी नागरिकलाई उक्त सेयर बिक्री गर्न पाउने छ । तर सगुनले अमेरिकामा दर्ता भएको कम्पनीले विश्वभरबाट सेयर जारी गर्न पाउने भन्दै धितोपत्र सम्बन्धी कानून विपरित नेपालमा आएर खुलेआम प्रचार प्रसार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL