काठमाडौं । हालैको आन्दोलनका क्रममा भएको तोडफोडले एनसेलका विभिन्न कार्यालयमा गम्भीर क्षति पुगेको कम्पनीले जनाएको छ। काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा ठूलो क्षति पुगेको एनसेलले पुष्टि गरेको हो।
कम्पनीका अनुसार घटनाले भौतिक संरचना मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत चुनौती उत्पन्न भएको छ। तर, चुनौतीका बीचमा पनि तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएर ग्राहकलाई सहज सुविधा दिने प्रयास गरिएको जनाएको छ।
विगत २० वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा टेवा पुर्याउँदै डिजिटल नेपाल निर्माणको अभियानमा योगदान दिइरहेको दाबी गरेको छ।
अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिंदै कम्पनीले आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो परिवर्तनले सबै नेपालीका लागि एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो सामूहिक आशा छ।’
एनसेलले कर्मचारी, ग्राहक र आम समुदायप्रति आभार व्यक्त गर्दै अझ दृढ संकल्पका साथ सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरिएको छ।