Logo

एनसेल खरिदबिक्री प्रकरण : ५ % सेयरको ७ अर्ब, ८० % को साढे ६ अर्ब मात्रै, कर छलीको आशंकामा अनुसन्धान गर्दै राजस्व

एनसेल खरिदबिक्री प्रकरण : ५ % सेयरको ७ अर्ब, ८० % को साढे ६ अर्ब मात्रै, कर छलीको आशंकामा अनुसन्धान गर्दै राजस्व



काठमाडौं । यसअघि करछली प्रकरणका मुछिएको एनसेलले अहिले पनि स्वामित्व खरिदबिक्री प्रकरणमा अर्को उत्कृष्ट नमुमा प्रस्तुत गरेको छ । यसअघि टेलियासोनेरासँग आजियाटाले ८० प्रतिशत सेयर स्वामित्व खरिद गरेको थियो । उक्त खरिदबिक्री पनि देश बाहिरै गरेर सरकारलाई बुझाउनुपर्ने लाभकर वापतको २५ प्रतिशत कर छली गरेको थियो ।

laxmi

एनसेल खरिदबिक्रीको उक्त प्रकरण नटुङगिदै पुनः नयाँ प्रकरण बाहिर आएको छ । मलेशियन कम्पनी अजियाटाले नेपालमा व्यवसायीक वातावरण नभएको भन्दै आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर कौडीको मुल्यमा बिक्री गरेको उद्घोष गरेको छ । सम्बद्ध स्रोतका अनुसार आजियाटाले आफ्नो नेपाल साझेदार शतिसलाल आचार्यको २ महिना अघि वेलायतमा १ डलरमा खुलेको कम्पनी स्पेक्ट्रलाईट कम्पनीलाई आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको छ ।

रोचक त के छ भने आजभन्दा करिव ७ वर्ष अघि १.३६५ विलियन डलर (नेरु १४३ अर्ब)मा किनेको कम्पनी अहिले ५० मिलियन डलर (नेरु ६.५ अर्ब)मा बिक्री गरेको छ । त्यो पनि उधारोमा । आजियाटाले आफुले बिक्री गरेको ८० प्रतिशत सेयरको कुल ५० मिलियन डलरमध्ये ५ मिलियन डलर अहिले अर्थात सेयर खरिदबिक्रीको ६ महिना भित्र लिने र बाँकी ४५ मिलियन डलर ४८ महिना भित्र लिने सहमति गरेको जानकारी दिएको छ । जबकि बुधबार मात्रै आजियाटा बर्हाड ग्रूपको संचालक समितिको बैठकले अहिले आफु आर्थिक संकटमा परेको भन्दै नेपालबाट एनसेल बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो । अहिले नै आर्थिक संकटमा परेको भनेर घोषणा गरेको कम्पनीले आफ्नो सेयर बिक्री वापतको रकम अर्को ४८ महिनापछि लिन्छु भनेर सहमति गर्नु नै भित्री खेल भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

५ प्रतिशत सेयरको ७ अर्ब, ८० प्रतिशतको साढे ६ अर्ब

कम्पनी खरिदबिक्रीको मुख्य खेल भनेको कम्पनीको मुल्यांकनमा रहेको छ । केही समयअघिसम्म एनसेल आजियाटाको नेपाली साझेदार सतिशलाल आचार्यले आफु आर्थिक समस्यामा परेको भन्दै आफ्नो स्वामित्वको २० प्रतिशत सेयरमध्ये ५ प्रतिशत सेयर ७ अर्व रुपैयाँमा बिक्री गर्ने भन्दै सार्वजनिक रुपमा ग्राहक खोज्दै हिडेका थिए । उनले नेपालका सम्भावित व्यसायीहरुलाई उक्त सेयर खरिद गर्न प्रस्तावसमेत गरेका थिए भने त्यसको लागि एजेण्ट समेत परिचालन गरेका थिए । तर तिनै सतिशलालले अहिले वेलायतमा १ पाउण्डमा कम्पनी स्थापना गरेर विदेशी साझेदारको ८० प्रतिशत सेयर साढे ६ अर्ब रुपैयाँमा खरिद गरेका छन् । एनेसेलको ५ प्रतिशत सेयर ७ अर्ब रुपैयाँ बिक्रीमा राखेका सतिशलाल आचार्यले ८० प्रतिशत सेयर साढे ६ अर्ब रुपैयाँमा खरिद गर्नु कर छली प्रयोजन बाहेक अरु हुन नसक्ने एक वरिष्ठ चाटर्ड एकाउण्टेन्टले जानकारी दिए ।

गैरकानूनी रुपमा बिक्री

दूरसंचार नियमावली अनुसार दूरसंचार कम्पनीले आफ्नो हिस्साको ५ प्रतिशतभन्दा बढी सेयर विक्री गर्न वा खरिद गर्दा नियामक निकाय दूरसंचार प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्छ । तर अजियाटाले भने नियामकलाई कुनै जानकारी नै नदिई आफ्नो स्वामित्वको सेयर बिक्री गरेको छ । आजियाटाले नियामकलाई कुनै जानकारी नदिई एनसेलमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेको भन्दै प्राधिकरणले स्पष्टिकरणसमेत सोधेको छ । उक्त सेयर खदिरविक्रीको विस्तृत जानकारी दिन मलेसियन कम्पनी अजियाटालाई निर्देशन दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

प्राधिकरणले शुक्रबारनै पत्र काटेर अजियाटालाई कुन कम्पनीलाई कति सेयर बेच्ने हो सो सम्बन्धमा स्पष्ट पार्न निर्देशन समेत दिईसकेको छ । तर आजियाटाले भने प्राधिकरणलाई कुनै जानकारी नदिई आफ्नो ८० प्रतिशत सेयर वेलायतको कम्पनी स्पेक्ट्रलाईट बिक्री गरेको विज्ञप्ती जारी गरिसकेको छ ।

छानविन गर्दै आन्तरिक राजस्व विभाग

आजियाटाले एनसेलको सेयर सस्तो मूल्यमा विक्री गरेर बाहिरिएसँगै छानविन सुरु गरेको छ । पत्रपत्रिकामार्फत एनसेल खरिदबिक्रीको कुरा बाहिर आएसँगै ठूला करदाता कार्यालयले सो सम्बन्धमा सुक्ष्म रुपमा अध्ययन गरिरहेको आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए । ‘यस विषयमा हामीकहाँ आधिकारीक रुपमा जानकारी आउनु पर्छ,’ उनले भने, ‘तर यसको फेयर भ्यालुएशन गर्ने आफ्नै पद्दती छ तसर्थ के आधारमा र कसरी डीडीए मूल्यांकन गरेर कम्पनीको मूल्य तय भयो र कसरी खरिदबिक्री भयो त्यस विषयमा ठूला करदाता कार्यालयले हेरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL