Logo

एक बर्षमै ५४ लाख ७२ हजारले घटे टेलिफोन सेवाग्राही, इन्टरनेट चलाउनेको संख्यामा भने वृद्धि

एक बर्षमै ५४ लाख ७२ हजारले घटे टेलिफोन सेवाग्राही, इन्टरनेट चलाउनेको संख्यामा भने वृद्धि



काठमाडौं । हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक बर्षमै टेलिफोन प्रयोगकर्ताको संख्या ५४ लाख ७२ हजारले घटेको देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार गत बर्षको पुष मसान्तसम्मको तुलनामा यो बर्षको पुष मसान्तसम्म मात्रै नेपालमा ५४ लाख ७२ हजार १ सय ६२ जना टेलिफोन प्रयोगकर्ता घटेका हुन् ।

laxmi

तथ्यांक अनुसार गत बर्षको पुष मसान्तसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको टेलिफोन सेवा प्रयोग गर्नेको संख्या ४ करोड २२ लाख ८२ हजार ६ सय ५८ थियो । तर, यो बर्षको पुषमा आईपुग्दा यस्तो सेवा प्रयोगकर्ताको संख्या घटेर ३ करोड ६८ लाख १० हजार ४ सय ९६ मा पुगेको हो ।

यस अवधिमा नेपाल टेलिकमको भ्वाईस टेलिफोन सेवा प्रयोगकर्ता मात्रै २० लाख ५२ हजार ९ सय ९१ जनाले घटेका छन् । गत बर्ष पुषमा २ करोड ३० लाख ३३ हजार जना रहेका टेलिकमका भ्वाइस सेवाग्राही यो बर्ष घटेर २ करोड ९ लाख ८० हजारमा सीमित भएका हुन् ।

यस्तै यसै अवधिमा एनसेलका भ्वाईस सेवाग्राही भने ३४ लाख ६८ हजार १ सय ५५ जनाले घटेको देखिएको छ । गत बर्ष पुषमा एनसेलको भ्वाइस सेवा चलाउनेको संख्या १ करोड ६८ लाख ७७ हजार रहेकोमा यो बर्ष घटेर १ करोड ३४ लाख ९ हजार जनामा सीमित भएका हुन् ।

यसरी हेर्दा यस अवधिमा तेस्रो ठुलो सेवाप्रदायक मानिएको स्मार्टसेलका भ्वाईस टेलिफोन ग्राहकहरु ४८ हजार ९ सय ८४ जनाले घटेका छन् ।

अर्थात यस अवधिमा ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जीएसएम) सेवा प्रयोगकर्ता मात्रै ५४ लाख ६३ हजारले घटेका छन् ।

यसरी एकाएक एक बर्षमै आधा करोडभन्दा बढीले सेवाग्राही घट्नुको पछाडीको कारण सिमकार्ड रिसाइकल भएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । उनका अनुसार २ बर्षसम्म निष्क्रिय रहेका सिमकार्डहरुलाई बन्द गर्ने क्रममा करिव ७ महिना जति प्रतिमहिना ५ लाखसम्म सिमकार्ड बन्द गरिएको थियाे । जसका कारण एकाएक ग्राहकहरु घटेको देखिएको उनको भनाई छ ।

नेपाल दूरसंचार प्राधिकरणले नै ६ महिनाभन्दा बढी समय निष्क्रिय रहेका सिमकार्डहरु बन्द गराई पुनः प्रयोग अर्थात विक्री गर्ने व्यवस्था गरिदिएको थियो । सोही अनुसार नेपाल टेलिकमले भने अलि धेरै समय राखेर अर्थात २ बर्षसम्म निष्क्रिय रहेका सिमकार्डहरु मात्रै रिसाइकल प्रक्रियामा लिएको थियो । यसरी निष्क्रिय भएका सिमकार्डहरु ठुलो मात्रामा बन्द गरिँदा यसको असर ग्राहकको संख्यामा देखिएको टेलिकमले जानकारी दिएको छ ।

यसरी टेलिफोन सेवाग्राहीहरु घट्दा यता इन्टरनेट सेवाग्राहीहरु यसै अवधिमा ११ लाख १ हजार ८ सय ६ जनाले बढेको प्राधिकरणको एमआइएस प्रतिवेदनमा उल्लेख छ । गत बर्ष ३ करोड ७० लाख ३५ हजार रहेका इन्टरनेट ग्राहक यो बर्ष बढेर ३ करोड ८१ लाख ३७ हजार रुपैयाँ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL