Logo

चक्रपथ बिस्तार अलपत्र : चिनियाँ पक्ष कोरोनाका कारण अड्कियो, नेपालले साईट क्लियरिङको काम अझै सकेन

चक्रपथ बिस्तार अलपत्र : चिनियाँ पक्ष कोरोनाका कारण अड्कियो, नेपालले साईट क्लियरिङको काम अझै सकेन



काठमाडौं । दोस्रो चरणको चक्रपथ विस्तार परियोजना कोरोना भाइरस (कोभिड–१९) कारण प्रभावित बनेको छ । परियोजनाको साईट क्लियरिङको काम अझै नसकिँदा विस्तारको काम कहिलेदेखि हुने भन्ने नै अन्यौल बनेको छ ।

laxmi

चीन सरकारको अनुदान सहयोगमा पूरै चक्रपथ स्तरोन्नति गर्ने योजना अन्तरगत पहिलो चरणको काम सम्पन्न भएको लामो समय भएपनि दोस्रो चरणको बिस्तार कहलिेसम्म हुने भन्ने अझै टुङ्गो लागेको छैन ।

निर्माण थालेको ३ बर्षमा दोस्रो चरणअन्तर्गत पर्ने कलंकीदेखि गोपीकृष्णसम्मको सडक स्तरोन्नति गर्ने बताएको चिनियाँ पक्षले डिजाईन भने तयार पारिसकेको छ । चिनियाँ पक्षले डिजाईन तयार पारेपनि नेपाली पक्षबाट साईट क्लियरिङ्को काम समयमै नहुँदा अन्यौलता सिर्जना भएको सडक विभाग, विकास सहायता महाशाखा प्रमुख, अर्जुनजंग थापाले जानकारी दिए ।

उनका अनुसार कोरोना भाईरसको महामारीअगावै चिनियाँ पक्षले डिजाईन तयार पारेको जानकारी गराएको थियो । तर, नेपाली पक्षले साईट क्लियरिङको काम समयमै नटुङ्ग्याउँदा काम सुरु हुन सकेको थिएन ।

चिनियाँ पक्षले करिव डेढ बर्षअघि नै दोस्रो खण्डको डिजाईन नेपाल सरकारलाई बुझाउने बताएको थियो । तर केहीसमयपछि चिनियाँ पक्षले पुनः साईट क्लियर भएपछि मात्रै डिजाईन उपलब्ध गराउने बतायो ।

सोहीअनुसार नेपाली पक्षले हालसम्म उक्त साईटका रुखहरु हटाउने, विजुलीका पोल, तार सार्ने, खानेपानी, ढलको पाईप सार्नेलगायतका कामहरु भने अन्तिम चरणमा पुर्याएको आयोजना प्रमुख अमृतमणि रिमालले बिजखबरलाई जानकारी दिए । उनका अनुसार युटीलीटीका बस्तुहरु सार्ने र रुख कटान गर्ने काम अन्तिम चरणमा पुगेको छ । विजुलीका पोलहरु सारिएको छ तर। तार जडान गर्न बाँकी छ ।

यस्तै उक्त आयोजनामा पर्ने महाराजगंजको जग्गा पनि अधिग्रहणको काम भर्खर सुरु भएको आयोजना प्रमुख रिमाल बताउँछन् । ‘केहीदिन अघि मात्रै महाराजगंजको जग्गाका मुआब्जाका लागि सूचना जारी गरेका छौं,’ उनले भने, ‘सूचना जारी गरेको ३५ दिनमा मुआब्जाको टुंगो लाग्छ ।’ उक्त क्षेत्रमा सडकलाई फराकिलो बनाउनका लागि ३९ ओटा घरहरु भत्काउनुपर्ने उनले बताए । यस्तै साईट क्लियरिङकै अर्काे काम गोंगबुको आकाशेपुल भत्काउने काम पनि सुरु भईसकेको छ । साथै स्वयम्भुमा भने के गर्ने अझै टुङ्गो लागेको छैन ।

नेपाली पक्षले साईट क्लियरिङको काम अन्तिम चरणमा पुर्याउँदा चिनियाँ पक्ष भने कोरोनाको महामारी सामान्य भएपछि मात्रै नेपाल आउने बताईरहेको सडक विभाग, विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘साईट क्लियरिङको काम सक्किएपछि र महामारीको अवस्था सामान्य भएपछि चिनियाँ टोली डिजाईनसहित आउने कुरा छ,’ उनले भने, ‘कोरोनाको डरका कारण पनि हाम्रो काममा केही ढिलाई भएको छ ।’

कलंकीदेखि गोपीकृष्ण धोबीखोला पुलसम्म विस्तार गरिने उक्त आयोजनाको लम्बाई ११ दशमलव ६ किलोमिटर छ । यसअघि कोटेश्वर कलंकी क्षेत्र विस्तार गरिसकेको चिनियाँ टोलीले दोस्रो चरणको स्तरोन्नतिको लागि भने नयाँ किसिमको डिजाईन तयार पारेको छ ।

पहिलो चरणको डिजाईनमा डिभाईडर नभएको, हरियाली नभएको, जेब्रो क्रसिङसमेत नभएको भन्दै आलोचना भएको थियो । तर अबको नयाँ डिजाईन भने एकचोटी सडक विभागले हेरेर संशोधन गरेर मात्रै लागू गरिने थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL