Logo

व्यापार वृद्धिमा चीनको अग्रसरता, विश्व बजारमा सशक्त उपस्थिति

व्यापार वृद्धिमा चीनको अग्रसरता, विश्व बजारमा सशक्त उपस्थिति



काठमाडौं । चीनको अगस्ट महिनाको निर्यात वार्षिक आधारमा ४.४ प्रतिशतले वृद्धि भए पनि यो वृद्धि आर्थिक विश्लेषकहरूले गरेका पूर्वानुमानभन्दा कम भएको देखिएको छ । अमेरिकातर्फको निर्यात घटे पनि दक्षिणपूर्वी एसिया र युरोपतर्फको निर्यातमा उल्लेखनीय सुधार देखिएको छ ।

यस वर्ष चीन र अमेरिकाबीचको व्यापार सम्बन्धमा चर्को उतारचढाव आएको छ, जसअन्तर्गत दुबै देशले एकअर्काको वस्तुहरूमा उच्च टारिफ (मासुल) लगाएका छन् । आधिकारिक तथ्याङ्क अनुसार, अगस्टमा अमेरिकातर्फको निर्यात अघिल्लो महिनाको तुलनामा ११.८ प्रतिशतले घट्यो भने गत वर्षको सोही महिनाको तुलनामा ३३.१ प्रतिशतले कमी आएको छ ।

यद्यपि, युरोपेली संघतर्फको निर्यातमा १०.४ प्रतिशत र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूतर्फको निर्यातमा २२.५ प्रतिशतले वृद्धि भएको छ । तर कुल निर्यात वृद्धि ब्लूमबर्गद्वारा गरिएको ५.५ प्रतिशतको पूर्वानुमानभन्दा कम रह्यो । उता, आयातमा पनि कमजोरी देखिएको छ । अगस्टमा आयात १.३ प्रतिशतले मात्र बढ्यो, जुन ३.४ प्रतिशतको पूर्वानुमानभन्दा कम हो ।

टारिफको डरले चाँडै सामान पठाउने प्रवृत्ति अब घट्दै

पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले बताएअनुसार, विगतमा टारिफ बढ्ने डरले व्यवसायीहरूले चाँडै सामान पठाउने (फ्रन्टलोडिङ) प्रवृत्ति देखिएको थियो, तर अब त्यो प्रभाव क्रमशः कम हुँदै गएको छ ।
उनले थपे, “चिनियाँ व्यवसायीहरूले अन्य देशहरूमा आफ्नो बजार हिस्सा बढाउने प्रयास गरिरहेका छन्, जुन कमजोर घरेलु मागका कारण पनि देखिएको हो ।”

दक्षिणपूर्वी एसिया र चीनबीचको आपूर्ति श्रृङ्खला (सप्लाइ चेन) निकै गहिरो रुपमा जोडिएको छ । अमेरिकाले चिनियाँ सामानहरू अरू देशहरू हुँदै पुनःनिर्यात (ट्रान्सशिपमेन्ट) गरिरहेको आरोप लगाउँदै आएको छ,जसको उद्देश्य उच्च टारिफबाट जोगिनु हो । इकोनोमिस्ट इंटेलिजेन्स युनिटकी प्रमुख अर्थशास्त्री युए सुका अनुसार,“व्यापार मार्ग परिवर्तन भइरहेको स्पष्ट देखिन्छ, जुन टारिफबाट जोगिन आपूर्ति श्रृंखलाको विविधिकरण गर्ने प्रयासको भाग हो ।”

चीनले यस वर्ष आर्थिक वृद्धि करिब ५ प्रतिशत हुने लक्ष्य राखेको भए पनि हाल घरेलु मागको कमजोरी, घरजग्गा क्षेत्रमा ऋणसम्बन्धी समस्या र युवा बेरोजगारीजस्ता कारणले पूर्ण पुनःउत्थानमा कठिनाइ भइरहेको छ ।

अगस्टमा कारखानाहरूको उत्पादन थोरै बढे पनि पाँचौं महिनासम्म पनि उत्पादनमा संकुचन रहिरह्यो, जसले देखाउँछ कि व्यापार तनावले निर्यातमुखी अर्थतन्त्रमा असर पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्