काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।
चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताउनुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।
‘हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,’ दूतावासले जानकारी दिएको छ ।