काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो २ महिना (साउनदेखि भदौ)मा नेपालमा ३ खर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार पछिल्लो २ महिनामा विभिन्न मुलुकहरुबाट नेपालमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा नेपालमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
नेपालमा आयात उच्च भईरहँदा नेपालले गर्ने निर्यातको व्यापार पनि उल्लेख्य सुधार भएको विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार चालु आवको पछिल्लो २ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ८८.५७ प्रतिशतले बढेको हो । यस अवधिमा नेपालले कुल ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु विदेश निर्यात गरेको देखिन्छ । गत आवको पहिलो २ महिनासम्म यस्तो निर्यात २५ अर्ब ९ करोड रुपैयाँ मात्रै थियो ।
यसरी चालु आवको २ महिनामै नेपालले २ खर्ब ५७ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोरेको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार यो पनि गत आवको तुलनामा भने ८ प्रतिशतले बढी हो ।