काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले हालैका आन्दोलनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । संघले आन्दोलनमा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा भएका तोडफोड र आगजनी घटनाले निजी क्षेत्र भयभीत भएको भन्दै यसले दीर्घकालमा स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने चेतावनी दिएको छ ।
संघले जटिल परिस्थितिमा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न सम्पूर्ण सदस्य र गैरसदस्य व्यवसायीलाई अपिल गर्दै अत्यावश्यक वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह गरेको छ । यसका लागि सरकारी निकाय तथा सरोकारवालाबीच समन्वय र सहजीकरण अपरिहार्य रहेको संघको भनाइ छ ।
संघले निषेधाज्ञा तथा कफ्र्युका बेला औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको ओसारपसार सहज बनाउन सम्बद्ध निकायलाई आग्रह गरेको छ । त्यस्तै, आयात–निर्यात प्रक्रियामा अवरोध नआओस् भनेर सम्पूर्ण भन्सार कार्यालय र नाकाहरू सुचारु गर्ने वातावरण बनाउन पनि जोड दिएको छ ।
संघले राजनीतिक स्थिरता, सुशासन र वाक स्वतन्त्रताको सुनिश्चिततासँगै लगानी तथा रोजगारी प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । निजी क्षेत्रलाई भयरहित वातावरणमा निर्वाध रुपमा चल्न नदिए अर्थतन्त्र थप संकटमा पर्ने संघको चेतावनी छ ।