काठमाडौं । पछिल्लो समय घट्दो ब्याजदरको असर बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा परेको छ । ब्याजदर घटेसँगै बचतकर्ता मुद्दती निक्षेपबाट बाहिरिएका छन् । एक वर्षमा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप करिब २ खर्ब रुपैयाँले घटेको छ । यसको प्रमुख कारण भनेको घट्दो ब्याजदर नै रहेको एक बैंकरले बताए । उनले मुद्दती निक्षेपबाट संस्थागत लगानीकर्ता धेरै बाहिरीएको जानकारी दिए ।
नेपाल राष्ट्र बैंककाअनुसार साउन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा ३४ खर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा १ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँले कम हो । २०८१ को साउनमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा ३६ खर्ब ८४ अर्ब ३५ करोड रुपैयाँ थियो ।
विगतमा बढ्दो ट्रेन्डमा रहेको मुद्दती निक्षेपको हिस्सा पछिल्ला वर्षहरुमा भने घटेको छ । यसको कारण भनेको मुद्दती निक्षेपमा पाइने ब्याजदरमा आएको निरन्तर गिरावट भएको जानकारहरु बताउँछन् । अघिल्ला वर्षहरुमा दोहोरो अंकमा पुगेको ब्याजदर अहिले एकल अंकमा सीमित भएको छ । यससँगै बैंकहरुले अहिले तरलता पर्याप्त भएको भन्दै मुद्दतीभन्दा चल्ती र बचत खातातर्फ ध्यान दिएका छन् । असोज महिनाको लागि २० वाणिज्य बैंकहरुको औसत व्यक्तिगत मुद्दतीको ब्याजदर ५.४६ प्रतिशत र संस्थागत लगानीकर्ताको व्यक्तिगत मुद्दतीको ब्याजदर ३.८७ प्रतिशत निर्धारण भएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको बढ्यै गर्दा कर्जा विस्तार भने अपेक्षितरुपमा बढन सकेको छैन । जसका कारण बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले कम अवधिको निक्षेपलाई कम प्राथमिकतामा राखेका छन् । बैंकलाई स्रोतको खाँचो पर्दा मात्र उनीहरुले यस्तो निक्षेपलाई प्राथमिकतामा राख्ने गरेका छन् भने स्रोत पर्याप्त हुँदा निरुत्साहित गर्छन् । तर, निकै कम ब्याजदरका कारण दीर्घकालमा निक्षेपकर्ता विकर्षित हुन सक्ने अवस्था पनि आउने जानकारहरु बताउँछन् । तर, कर्जा प्रवाह निकै सुस्त रहेका कारण तत्काल निक्षेप घट्ने अवस्था देखिंदैन । तथापि, नयाँ अर्थमन्त्रीको रुपमा रामेश्वर खनाल आएसँगै कर्जा प्रवाहमा उनले सहज नीति लिने अपेक्षा बैंकर्सहरुको रहेको छ ।