काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ।
दिउँसो करिब ३ः२० बजे खसेको भीषण पहिरोका कारण सडक भासिने जोखिमसमेत बढेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।
उनका अनुसार, ‘तुइनखोलामा अत्यन्त ठूलो सुक्खा पहिरो खसेको छ। सडक नै भासिन सक्ने उच्च जोखिम भएकाले तत्काल यातायात सञ्चालन हुने सम्भावना छैन।’
सडक कहिले खुल्ने भन्नेबारे अहिलेसम्म कुनै ठोस अनुमान गर्न नसकिने उनले बताए। यस विषयमा सडक विभागको प्राविधिक टोलीसहित सुरक्षा समितिको बैठक बसेर निर्णय लिइँदैछ।
सडक खतरापूर्ण भएकाले सवारी साधनलाई फिर्ता गरी वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। पहिरो लगातार खसिरहेकाले तत्काल पन्छाउने सम्भावना नरहेको प्रहरीले जनाएको छ।