काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले नेपालमा विद्यमान परिस्थितिका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई सामना गर्न दातृ मुलुकसहित भारतसँगको आर्थिक साझेदारी निरन्तर रहनुपर्ने आवश्यकता औंल्याए।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई देशबीचको विशेष सम्बन्धलाई अझ मजबुत बनाइने उल्लेख गरे। उनले विकास आयोजना तथा कार्यक्रमलाई तीव्रता दिन भारत तयार रहेको र नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रको मनोबल उच्च बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए। साथै, नेपाल–भारत व्यापार सहजीकरणका विषयमा पनि छलफल भएको थियो।
यसैगरी, चीनका राजदूत चेङ्ग सोङ्गसँगको भेटमा अर्थमन्त्री खनालले चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले वर्तमान सरकार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने मुख्य कार्यमा केन्द्रित रहेको बताउँदै चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै, बैंकिङ क्षेत्रमा साझेदारी विस्तार, चीनको बैंकको शाखा नेपालमा स्थापना, निर्यात भुक्तानी सरलीकरण तथा चिनियाँ लगानीकर्तालाई नेपालमा प्रोत्साहन दिन आग्रह गरे।
राजदूत सोङ्गले चीनले नेपाली जनताको छनोटलाई सदैव सम्मान गर्दै आएको र नेपाललाई सहयोग निरन्तर रहने आश्वासन दिए। उनले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरु सन्तोषजनक रुपमा अघि बढिरहेको जानकारी दिँदै, परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँग छुट्टै अन्तर्क्रिया गरिने पनि बताए।