काठमाडौं । गत आर्थिक वर्ष नेपालको निर्यात व्यापारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षको बार्षिक तथ्यांकअनुसार उक्त आवमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बढीको वस्तु निर्यात गरेको देखिएको छ । यो हालसम्मकै उच्च हो ।
विभागका अनुसार यस अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा निर्यात व्यापारमा ८१ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवको यहि अवधिमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यसपटकको निर्यात व्यापारमा नेपालले १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको भटमासको कच्चा तेल, १२ अर्ब ३२ करोड रुपैयाँ बराबरको सुर्यमुखीको बियाँ र कच्चा तेल र १० अर्ब ७७ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात गरेको देखिएको छ । खासगरी गत आवमा नेपालको निर्यात व्यापारमा ऐतिहासिक रेकर्ड कायम हुनुमा यिनै ३ वस्तुको मुख्य भूमिका देखिन्छ ।
यस्तै यहि अवधिमा नेपाललको आयात व्यापार पनि १३.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवभरी १५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले गत आवभरी उक्त अंक बढाएर १८ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको हो । यसरी गत आवमा नेपालले कुल २० खर्ब ८१ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९।२४ प्रतिशतले बढी हो ।
यसरी आयात र निर्यात बढ्दा पनि नेपालले गत आवभरी १५ खर्ब २७ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यत अघिल्लो आवको तुलनामा ६ प्रतिशतले बढी हो । अघिल्लो आवको यहि अवधिमा १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।