Logo

यी हुन् नेपालले गत वर्ष सबैभन्दा धेरै ‘आयात र निर्यात’ गरेका १० वस्तु, वैदेशिक व्यापारमा ८० प्रतिशत हिस्सा

यी हुन् नेपालले गत वर्ष सबैभन्दा धेरै ‘आयात र निर्यात’ गरेका १० वस्तु, वैदेशिक व्यापारमा ८० प्रतिशत हिस्सा



काठमाडौं । गत आर्थिक वर्र्ष २०८१÷८२ मा नेपालले आयात र निर्यात व्यापार दुवैमा रेकर्ड कायम गर्याे । हरेक वर्षजसो बढ्ने आयात र निर्यातको व्यापार यसवर्र्ष पनि उल्लेख्य बढ्यो । भन्सार विभागको तथ्यांकलााई आधार मान्दा गत आर्थिक वर्र्ष आयातभन्दा पनि निर्यातमा हालसम्मकै उच्च अर्थात ८१ प्रतिशतको वृद्धि देखियो ।

यो अवधिमा निर्यात परिमाण पनि हालसम्मकै उच्च अर्थात २ खर्ब ७७ अर्ब नाघ्यो । विभागका अनुसार यस अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा आयात व्यापार पनि १३.२५ प्रतिशतले बढेर १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो । यसरी नेपालले गत आवमा गरेको उच्च आयात र निर्यातको व्यापारमा भने धेरै आयात भएका १० वस्तुको हिस्सा उल्लेख्य छ ।

आयाततर्फ

आयात व्यापारकै कुरा गर्दा गत आर्थिक वर्ष नेपालले आयात गरेका उच्च १० वस्तुहरूले मात्रै कुल आयातको २९ प्रतिशत हिस्सा ओगटेको देखिएको छ । यी १० वस्तुमार्फत नेपालले गत आर्थिक वर्र्षमा ५ खर्ब ६२ अर्ब ६२ करोड रुपैयाँमाथि छ । खासगरी डिजेल, क्रूड सोयाविन तेल, पेट्रोल, खाना पकाउने ग्याँस, फलामजन्य उत्पादन, स्मार्टफोन, फलाम÷स्टीलका पातलो पत्रहरू, औषधि, क्रूड सूर्यमुखी तेल र अन्य कोइलालगायतका वस्तुहरु यो सूचीमा छन् ।

यी मध्ये गत आवमा डिजेल सबैभन्दा धेरै आयात हुने वस्तुको पहिलो स्थानमा छ । गत आवमा नेपालले १ खर्ब २८ अर्ब ७६ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको थियो । यो नेपालमा गत आवमा कुल वस्तु आयातको ७.१४ प्रतिशत हो । यस्तै यहि सूचीको दोस्रो स्थानमा कच्चा सोयाविन तेल छ । नेपालले गत आवमा १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको अर्थात कुल आयातमा ६ प्रतिशत हिस्सा ओगट्ने गरी यसको आयात गरेको देखिन्छ ।

पेट्रोल तेस्रो स्थानमा छ । गत आवमा नेपालमा ६४ अर्ब १२ करोड ७४ लाख रुपैइाँ बराबरको पेट्रोल आयात हुँदा चौथो स्थानमा रहेको खाना पकाउने ग्याँसको आयात ६२ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ बराबर पुगेको देखिन्छ । यसै अवधिमा फलामजन्य उत्पादन र फलाम÷स्टीलका पातलो पत्रहरुको आयात क्रमशः ४८ अर्ब ७३ करोड र ३३ अर्ब ६ करोड रुपैयाँ बराबर छ । यस्तै धेरै आयात हुने वस्तुको सूचीको सातौं स्थानमा स्मार्टफोन छ ।

यस अवधिमा नेपालले विदेशबाट ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका स्मार्टफोन मात्रै आयात गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी नेपालले ३० अर्ब २६ करोड रुपैयाँको औषधि, २९ अर्ब २ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल र २१ अर्ब ५२ करोड रुपैयाँ बराबरको कोईला आयात गरेको देखिन्छ । तथ्यांक अनुसार नेपालको आयातमा इन्धन, खाने तेलको कच्चा पदार्थ र उपभोक्ता वस्तुहरूको प्रभुत्व रहेको स्पष्ट हुन्छ । कुल आयातको लगभग एक तिहाइ हिस्सा यी १० वस्तुहरुले नै ओगटेको तथ्यांकमा देखिन्छ ।

निर्याततर्फ

गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले निर्यात गरेका उच्च १० वस्तुहरूले नेपालको कुल निर्यातको ५९.३६ ओगटेका छन् । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्र्षमा नेपालले निर्यात गरेका १० वस्तुहरूको कुल निर्यात मूल्य १ खर्ब ६४ अर्ब ४३ करोडमाथि छ । यो कुल निर्यातको लगभग ५९.३६% हो । यी वस्तुहरूमा प्रशोधन गरिएको सोयाविन तेल, प्रशोधित सूर्यमुखी तेल, ऊनी गलैंचा, ठूलो अलैंची, जुटका बुनेका कपडा, पोलिएस्टर मिश्रित धागो, फलफूलको जुस, फलाम÷स्टील, र पोलिस्टरको एकल धागो समावेश छन् ।

विभागको तथ्यांकलाई केलाउँदा माथि उल्लेखित उच्च निर्यात हुने १० वस्तुहरुमध्ये प्रशोधित सोयाविन तेलको निर्यात भने सबैभन्दा बढी भएको देखिन्छ । गत आवभार सोयाविन तेलको निर्यात १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँमाथि पुगेको देखिन्छ । यसले नेपालको कुल निर्यात व्यापारको झण्डै ४० प्रतिशत हिस्सा ओगटेको छ । यस्तै नेपालले गत आवमा धेरै निर्यात गरेको वस्तुको दोस्रो स्थानमा प्रशोधित सूर्यमुखी तेल छ । गत आवमा नेपालले विभिन्न देशमा खासगरी भारतमा १२ अर्ब ३२ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको देखिन्छ । यो नेपालको कुल निर्यात व्यापारको ४.४५ प्रतिशत हो ।

यसैगरी नेपालले १० अर्ब ७७ करोड रुपैयाँ बराबरको गलैंचा, ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको ठूलो अलैंची र ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको जुटका सामग्रीको निर्यात गरेको छ । नेपालका धेरै निर्यात हुने वस्तुको सूचीमा यी वस्तुहरुको स्थान क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छ । जुटका सामग्रीको निर्यात गत आवमा धेरै निर्यात हुने वस्तुको छैठौं स्थानमा छ । गत आवमा नेपालले ५ अर्ब ६९ अर्ब रुपैयाँ बराबरको जुटका सामग्रीहरु निर्यात गरेको छ । यस्तै यसै अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको पोलिएस्टर मिश्रित धागो, ५ अर्ब २१ करोड रुपैयाँ बराबरको फलफूलको जुस र ५ अर्ब १७ करोड रुपैयाँ बराबरको पोलिएस्टर एकल धागो निर्यात गरेको छ ।

यी वस्तुहरूले नेपालको निर्यातमा खाद्य, कपडा, र औद्योगिक उत्पादनको मिश्रित योगदानलाई प्रतिबिम्बित गर्छ । यी तथ्यांकले नेपालको निर्यातमा प्रशोधित तेल, हस्तकला, कृषि, र कपडा उद्योगको प्रभुत्व रहेको देखाउँछ । कुल निर्यातको झन्डै ६०% हिस्सा यी १० वस्तुहरूले ओगटेको देखिएको छ । अब वैदेशिक व्यापारको कुरा गर्दा नेपालले गत आर्थिक वर्र्षभर कुल २० खर्ब ८१ अर्ब रुपैयाँ बराबको वैदेशिक व्यापार गरेको छ । यसमा मुख्य आयात र निर्यात हुने २० वस्तुहरुको हिस्सा मात्रै ६ खर्ब ९७ अर्ब अर्थात ३३ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्