Logo

भारतले ८ सय प्रकारका अत्यावश्यक औषधिको मूल्य बढाउने, नेपालमा पनि मूल्य बढ्ने

भारतले ८ सय प्रकारका अत्यावश्यक औषधिको मूल्य बढाउने, नेपालमा पनि मूल्य बढ्ने



काठमाडौं । भारतले अप्रिल १ देखि अत्यावश्यक औषधिको मूल्य बढाउने भएको छ । भारतले विभिन्न ८ सय प्रकारका अत्यावश्यक औषधिको मूल्य वृद्धि गर्न लागेको हो । जसमा पेनकिलर, एन्टिबायोटिक र मुटुको औषधिसमेत समावेश छन् । यद्यपि यस्तो मूल्यवृद्धि थोरै हुने बताइएको छ ।

laxmi

भारत सरकार औषधि कम्पनीहरूलाई वार्षिक थोक मूल्य सूचकांक (डब्लूपीआइ) मा परिवर्तन अनुसार मूल्य बढाउन अनुमति दिन तयार भएको हो । बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै औषधि उद्योगले औषधिको मूल्य बढाउन माग गर्दै आएको छ । भारत सरकार डब्लूपीआइमा वार्षिक परिवर्तन अनुरूप .००५५ प्रतिशत मूल्य वृद्धि गर्न अनुमति दिन तयार भएको छ । तर, गत वर्ष र यसअघि २०२२ मा औषधिको मूल्यमा कीर्तिमानी १२ प्रतिशत र १० प्रतिशतले ठूलो वृद्धि भएपछि यो थोरै वृद्धि हुनेछ । औषधिको मूल्यमा वर्षमा एक पटक परिवर्तन गर्न अनुमति दिइएको छ ।

केही वर्षयता प्रमुख औषधि बनाउन प्रयोग हुने सामग्रीको मूल्य १५ देखि १३० प्रतिशतसम्म बढेको उद्योगीहरू बताउँछन् । त्यसमध्ये पारासिटामोलको मूल्य १३० प्रतिशतले र एक्सिपेन्टको मूल्य १८–२६२ प्रतिशतले बढेको छ । ग्लिसरीन र प्रोपाइलिन ग्लाइकोल, सिरप लगायतका क्रमशः २६३ प्रतिशत र ८३ प्रतिशतले महँगो भएका छन् । यस्तै केही वस्तुहरूको मूल्य पनि ११% देखि १७५% सम्म बढेको छ । पेनिसिलिन जी १७५% ले महँगो भएको छ ।

यसअघि १,००० भन्दा बढी भारतीय औषधि उत्पादकहरूको प्रतिनिधित्व गर्ने लबी समूहले पनि तत्काल प्रभावबाट मूल्यवृद्धि गर्न सरकारसँग अनुमति मागेको थियो । उद्योगको लागत बढ्दा समस्यामा परेको उनीहरु बताउँछन् । यद्यपि, एक अधिकारीले अघिल्लो दुई ठूलो दरको वृद्धिपछि यो कम वृद्धि उपभोक्ताका लागि राहत हुने बताए ।

भारतमा अत्यावश्यक औषधिहरुको सूचीमा ती औषधिहरू समावेश छन् जुन अधिकांश मानिसहरूले प्रयोग गर्छन् । अत्यावश्यक औषधिहरूको सूचीमा पारासिटामोल जस्ता औषधिहरू, एन्टिबायोटिकहरू जस्तै एजिथ्रोमाइसिन, एनिमिया औषधिहरू, भिटामिन र मिनरल्सहरू समावेश छन् ।

नेपालमा प्रभाव

भारतमा हुने औषधिको मूल्यवृद्धिले नेपाली बजारमा पनि औषधिको मूल्यवृद्धि हुने निश्चित छ । विश्वबजारसँगै नेपाली बजारमा पनि भारतीय औषधिको खपत निकै उच्च छ । नेपालको कुल बजारमा अहिलेपनि भारतीय औषधिको बजार ५० प्रतिशत बढी रहेको अनुमान छ । यस्तोमा भारतीय औषधिमा हुने मूल्यवृद्धिले नेपाली उपभोक्ता प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL