Logo

चीनमा भ्रष्टाचारविरोधी अभियानमा एक दशकमा ४७ लाख दण्डित, अबको टार्गेट वित्त र व्यापार क्षेत्र

चीनमा भ्रष्टाचारविरोधी अभियानमा एक दशकमा ४७ लाख दण्डित, अबको टार्गेट वित्त र व्यापार क्षेत्र



चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान वित्त र व्यापार क्षेत्रतर्फ अघि बढिरहेको छ । तर, कमजोर आर्थिक वृद्धिसँग संघर्ष गरिरहेको चीनका लागि यो खतरनाक पनि हुनसक्छ ।

laxmi

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको अभियानले कम्युनिष्ट पार्टीदेखि सेना र फुटबल टोलीसम्म धेरै क्षेत्रमा हंगामा मच्चाएको छ । यसैक्रममा सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान अब वित्त र व्यापार क्षेत्रमा केन्द्रित भएको छ । तर, मानिसहरुलाई आशंका छ कि यदि व्यापारिक क्षेत्रहरूमा कुनै भ्रष्टाचार विरोधी कारबाही भयो भने यसले पहिले नै सुस्त भइरहेको अर्थतन्त्रलाई पनि असर गर्न सक्छ ।

एक दशकअघि सत्तामा आएपछि सीले देशभर भ्रष्टाचारविरुद्धको सशक्त अभियान सुरु गरेका थिए । सन् २०२२ सम्मको तथ्यांकअनुसार यो अभियानअन्तर्गत हालसम्म ४७ लाख मानिसलाई दण्डित गरिएको छ । सरकारी पत्रिका ग्लोबल टाइम्सले यसबारेमा एक रिपोर्ट प्रकाशित गरेको छ । हङकङबाट प्रकाशित अखबार साउथ चाइना मर्निङ पोस्टका अनुसार सार्वजनिक गरिएका आपराधिक अनुसन्धानका विवरणहरूले सन् २०२२ को तुलनामा गत वर्ष वरिष्ठ अधिकारीहरू विरुद्धको अनुसन्धानका मुद्दामा ४० प्रतिशतले वृद्धि भएको देखाएको छ ।

हालै चिनियाँ सेनाको सबैभन्दा विशेष इकाईका अधिकारीहरूमाथि कडा कारबाही गरिएको छ र नौ वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिएको छ । यसअघि पनि कम्युनिष्ट पार्टीका उच्च पदमा रहेका कैयौँ व्यक्तिलाई निशाना बनाइएको थियो । र अब राष्ट्रपति सीले वित्त र व्यापार क्षेत्रहरूमा कारबाही घोषणा गरेका छन् । यसमा बैंकिङ र प्रपर्टी व्यवसायसहित सरकारी विभागहरू समावेश छन् । स्थानीय सरकारको ऋण बढ्दै गएको र जनताको खर्च गर्ने क्षमता लगातार घट्दै गएकाले यो कुराले जनतालाई थप त्रास उत्पन्न गराएको छ । हालसालै, सी जिनपिङले जनतालाई भ्रष्टाचारको ‘गम्भीर र जटिल’ समस्यासँग जुध्न थप प्रयास आवश्यक रहेको बताएका थिए ।

चिनियाँ घरेलु राजनीतिमा विशेषज्ञता राख्ने संस्था सेर्सस समूहका सीईओ एलेक्स पेएटले भने ‘आर्थिक अस्थिरता सीका लागि सबैभन्दा ठूलो चिन्ता होइन, जबकि पार्टी समस्याहरूको बाबजुद समर्थन जित्नको लागि वृद्धिमा धेरै निर्भर छ ।’ उनी भन्छन् कि सीले विदेशी देशहरूले लगाएको प्रतिबन्धको प्रभावलाई कम गर्न र अर्थतन्त्रलाई पूर्ण रूपमा पार्टीको नियन्त्रणमा ल्याउन धेरै महत्वपूर्ण औद्योगिक क्षेत्रहरूलाई लक्षित गर्ने तयारी गरिरहेका छन् । उनले भने, ‘उनीहरूका लागि सबैभन्दा आधारभूत कुरा भनेको कार्यकर्ताहरू पार्टीको मूल विचारधाराबाट विचलित भएका छन् । भ्रष्टाचार बजार र विदेशी विचारको प्रत्यक्ष परिणाम भएको उनहिरु विश्वास गर्छन ।’

क्यालिफोर्निया विश्वविद्यालयका एसोसिएट प्रोफेसर भिक्टर शिले चिनियाँ नेताले अर्थतन्त्रलाई सुदृढ पार्ने र प्रमुख आर्थिक क्षेत्रहरूमा अस्थिरताबीच कुनै विरोधाभास नदेखेको विश्वास गर्छन् । उनी भन्छन्, ‘नेता र पदाधिकारीले सधैँ कडाइ र इमान्दारिताका साथ काम गरोस् भन्ने उनको चाहना हो तर, उनले अधिकांश अधिकृतलाई दिइने तलब र अन्य सुविधा घटाएका छन्, यसले भ्रष्टाचारमा लिप्त हुने कारण बढ्छ, जसको नतिजा गिरफ्तारीको एक श्रृंखला को रूपमा आउँछ ।’
सीको नीतिका समर्थकहरूले उनको भ्रष्टाचार विरोधी अभियानले सुशासनमा सुधार ल्याएको बताउँछन् तर, आलोचकहरूले यसलाई विपक्षीहरूलाई दबाउने माध्यमका रूपमा पनि हेर्छन् । यस अभियानको अध्ययन गरेका जर्जिया स्टेट युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु वेइडम्यान भन्छन्, ‘अभियानअन्तर्गत हालसालै लक्षित व्यक्तिहरूमा उच्च पदमा बसेका व्यक्तिहरूभन्दा मध्यम श्रेणीका अधिकारीहरू बढी छन् ।’

गत वर्ष मात्रै चीनले अचानक आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूलाई पदबाट हटायो । यसबाहेक सेनाका ठूला जनरललाई पनि कारबाही गरिएको छ । कुनै आधिकारिक कारण दिइएको छैन तर यी मुद्दाहरू भ्रष्टाचारसँग सम्बन्धित रहेको अनुमान गरिएको थियो । विडम्यान भन्छन् कि सीप्रति वफादारी पनि यसको पछाडि कारण हुन सक्छ । यो तर्कलाई अगाडि बढाउँदै उनी भन्छन्, ‘वित्तीय क्षेत्रमा कारबाही गर्नुको कारण त्यहाँ फैलिएको भ्रष्टाचार पनि हुन सक्छ वा यो पनि हुन सक्छ कि यी क्षेत्रहरू आत्मनिर्भर र शक्तिशाली बन्दै गएका छन् भन्ने सीले महसुस गर्न थालेका छन्, जुन उनको शक्तिको लागि खतरा हुनसक्छ ।’ अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL