Logo

आईएमएफको ३ अर्ब डलरबाट आर्थिक संकटले घेरिएको पाकिस्तानलाई कति फाइदा होला ?

आईएमएफको ३ अर्ब डलरबाट आर्थिक संकटले घेरिएको पाकिस्तानलाई कति फाइदा होला ?



काठमाडौं । आर्थिक संकटले घेरिएको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफबाट ३ अर्ब अमेरिकी डलर सहयोग पाउने भएको छ । विगतका वर्षहरूमा पाकिस्तानको अर्थतन्त्र धेरै कठिनाइहरूको सामना गरिरहेको छ । पाकिस्तानले धेरै महिनादेखि सहयोग खोज्दै आएको थियो । जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डको बैठकमा सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । आईएमएफले बिहीबार साँझ पाकिस्तानसँग यो सम्झौता घोषणा गरेको हो ।

laxmi

आईएमएफका अधिकारी नाथन पोर्टरले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘आईएमएफ टोली र पाकिस्तानी अधिकारीहरू बीचको ९ महिनाको स्ट्यान्डबाइ व्यवस्थाले लगभग ३ बिलियन डलर (करीब ४ खर्ब रुपैयाँ) योगदान गरेको छ भनेर घोषणा गर्न पाउँदा खुसी छु । यो रकम आईएमएफमा रहेको पाकिस्तानको कोटाको करिब १११ प्रतिशत हो ।’

पाकिस्तानको आर्थिक संकट

अन्य कुराहरू बाहेक, आईएमएफको सहयोगमा, पाकिस्तानको भारी ऋणमा डुबेको ऊर्जा क्षेत्रमा आवश्यक सुधारहरू र देशलाई जलवायु परिवर्तनअनुसार अनुकूल बनाउन आवश्यक सुधार गरिनेछ । पाकिस्तान विश्वका ती देशहरूमध्ये एक हो जहाँ कार्बन उत्सर्जनको स्तर एकदमै कम छ, तर जलवायु संकटले नराम्ररी प्रभावित भएको छ ।

आणविक उर्जाले सुसज्जित यो देश धेरै वर्षदेखि चरम आर्थिक संकटको सामना गर्दै आएको छ । यो पाकिस्तानमा लगातार बढिरहेको मुद्रास्फीतिबाट पनि थाहा हुन्छ । पछिल्लो एक वर्षमा देशमा बिजुली, ग्यास र पेट्रोलको मूल्य दोब्बरभन्दा बढी बढेको छ । यसैबीच, पाकिस्तानी रुपैयाँको भाउ डलरको तुलनामा कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । आर्थिक संकटले वैदेशिक लगानीमा पनि नराम्रो असर पारेको छ । मुलुकले आफ्नो आयातको बिल तिर्न सक्ने अवस्था छैन । जसका कारण औद्योगिक उत्पादन पनि ह्वात्तै घटेको छ । यी सबैको बीचमा राजनीतिक अस्थिरता र गत वर्षको बाढीले मुलुक झनै पछाडि धकेलिएको छ । विनाशकारी बाढीमा पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबेको थियो ।

छोटो अवधि राहत

पाकिस्तानले आईएमएफबाट सहायता पाएको छ, तर दक्षिण एसियाली मामिलाका विशेषज्ञ माइकल कुगेलम्यानले फरेन पोलिसी म्यागजिनलाई भने कि बेलआउट प्याकेजले पाकिस्तानको अर्थतन्त्रलाई छोटो समयको लागि मात्र मद्दत गर्नेछ । कुगेलम्यानका अनुसार देशलाई दीर्घकालीन राहतका लागि पाकिस्तानमा दूरगामी राजनीतिक सुधार आवश्यक छ ।

पाकिस्तानमा वैदेशिक ऋणको बोझ निकै बढेको छ र आईएमएफबाट प्राप्त रकमबाट भुक्तानी संकटमा केही राहत मिल्नेछ । पाकिस्तानमा ग्यास, तेलका लागि जनताले निकै समस्या भोगिरहेका छन् । धेरै वर्षको आर्थिक कुव्यवस्थापनले पनि पाकिस्तानको अर्थतन्त्रलाई यो अवस्थामा पुर्याएको छ । कोविडको महामारी, युक्रेनमा रुसको आक्रमणपछि विश्वमा उत्पन्न भएको ऊर्जा संकट र पाकिस्तानमा आएको बाढीका कारण यो अवस्था झन् बिग्रिएको हो ।

समस्याबाट बाहिर निस्कन अडिग रहनुपर्छ

पाकिस्तानले सन् २०२२–२३ मा आर्थिक विकासको कुनै पनि लक्ष्य हासिल गर्न सकेन । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ०.३ प्रतिशत थियो । सन २०१७ मा, यसको रैंकिंग विश्वको अर्थतन्त्रहरूमा २४ थियो, जुन अहिले ४७ मा झरेको छ । वैशाख महिनामा मुद्रास्फीति ३८ प्रतिशत थियो ।

आईएमएफसँग भएका झण्डै दुई दर्जन सम्झौतामध्ये अधिकांश पूरा हुन नसक्नु दशकौंको अव्यवस्थाको परिणाम हो । गत वर्ष आईएमएफले पाकिस्तानलाई दिने एक अर्ब डलरको सहायता रोकेको थियो र अहिले त्यो सहायता रद्द गरिएको छ । बिहीबारको सम्झौताले आशा जगाएको छ, तर साथसाथै आईएमएफले पनि पाकिस्तानलाई संकट पार गर्न प्रयास गरिरहनुपर्ने चेतावनी दिएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL