Logo

जेनजी प्रदर्शन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर : अर्थविद्हरु

जेनजी प्रदर्शन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर : अर्थविद्हरु



काठमाडौं । जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रका लागि नयाँ अवसर समेत सिर्जना भएको अर्थविद्हरूले बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा पूर्वअर्थसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा. समर खतिवडाले जेनजी आन्दोलनलाई सुधारको मोडको रुपमा लिनुपर्नेमा जोड दिए।

पूर्वअर्थसचिव खनालले प्रदर्शनलाई भ्रष्टाचार र कुशासनविरुद्धको जागरणको रुपमा व्याख्या गर्दै यो अवसरलाई पुनर्निर्माण, नयाँ लगानीका अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउने दिशामा सदुपयोग गर्नुपर्ने बताए।
‘नयाँ पुस्ताको नेतृत्वमा देशभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु जाग्नु हाम्रा लागि उपलब्धि हो,’ खनालले भने, ‘यसले आसेपासे पुँजीवाद भत्काउँदै शून्य सहनशीलता अपनाउन प्रेरित गरेको छ।’

उनका अनुसार यो समस्या प्राकृतिक विपत्ति वा महामारीजस्तो नभएकाले बाह्य सहयोगमा निर्भर नभई आन्तरिक क्षमता र सुधारमार्फत उठ्न सकिने अवस्था छ। उनले हिल्टन होटल प्रकरण र भाटभटेनीमा भएको आक्रमणलाई राजनीतिक प्रतिशोधका परिणामका रुपमा लिएर सञ्चारमाध्यमलाई संयमित र सत्यतथ्य सूचनामा जोड दिन पनि आग्रह गरे।

अर्थशास्त्री डा. खतिवडाले जेनजी प्रदर्शनलाई ‘कोर्स करेक्सन’को अवसरको रुपमा लिँदै यसले क्रोनी क्यापिटालिजम भत्काउने सन्देश दिएको बताए।
‘नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणतर्फ अघि बढ्ने अवसर दिएको छ,” उनले भने, “यो नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट निकाल्ने सम्भावना पनि हो।’

उनले पर्यटन पूर्वाधारमा केही क्षति पुगे पनि यो क्षेत्र अझै सम्भावनायुक्त रहेको उल्लेख गर्दै सरकारलाई अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न सुझाव दिए।
खतिवडाका अनुसार हालको प्रत्यक्ष विदेशी लगानी कुल ग्राहस्थ्य उत्पादनको ०।३ प्रतिशत मात्रै भएकाले ठूलो असर पर्ने अवस्था छैन। बरु यसलाई आगामी दिनमा तीन प्रतिशत पुर्‍याउने लक्ष्यतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।

विज्ञहरुले जेनजी प्रदर्शनलाई सुधार र सुशासनतर्फको कदमको रुपमा उपयोग गर्न सके मुलुकले छिट्टै आर्थिक स्थिरता र समृद्धितर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्