Logo

पन्ध्रौं आवधिक योजनामा कोरोना बाधक, भएन सोचेअनुसारको प्रगति

पन्ध्रौं आवधिक योजनामा कोरोना बाधक, भएन सोचेअनुसारको प्रगति



काठमाडौं । सरकारले विभिन्न लक्ष्य राखेर कार्यान्वयनमा ल्याएको पन्ध्रौँ आवधिक योजना (२०७६/७७–२०८०/८१)का लक्ष्य हाँसिल गर्न कोरोना महामारी बाधक बनेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले यसको मध्यावधि समीक्षा गर्दै कोरोना महामारीका कारण विभिन्न सुचकहरुमा भनेबमोजिमको प्रगति नभएको बताएको हो ।

समीक्षा अनुसार कृषि क्षेत्रमा बर्षेनी देखिने प्राकृतिक विपत्ती, पर्यटन तथा सेवा क्षेत्रमा कोरोनाको प्रभावलगायतले अपेक्षाअनुसार प्रगति हुन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मा पन्ध्रौँ आवधिक योजना सार्वजनिक गरेका थिए । जसमा ५ बर्षमा प्रतिव्यक्ति आय १ हजार ५ सय १५ डलर पुर्याउने, गरिवी १० प्रतिशतमा झार्नेलगायतका १८ रुपान्तरणकारी योजना समावेश गरिएको थियो ।
सोही आवधिक योजनाको हालसम्मको प्रगति र अब गर्नुपर्ने सुझावहरु दर्शाउन त्रिभुवन विश्वविद्यालयको केन्द्रिय अर्थशास्त्र विभागले मध्यावधि समीक्षा गरेको हो । आवधिक योजनाअनुसार कृषि क्षेत्रको वृद्धि औसत ५ दशमलव ४ प्रतिशत र उद्योग क्षेत्रको १५ प्रतिशत पुर्याउने लक्ष राखिएको थियो । तर, आवधिक योजना सार्वजनिक गरिएको ३ बर्ष वित्दा यी दुवै सुचकमा क्रमशः २.५ र ३.४ प्रतिशतको औसत वृद्धि देखिन्छ ।

यस्तै १८ प्रतिशतमा रहेको गरिवी १० प्रतिशतमा झार्ने योजना पनि सोचेअनुरुप नभएको मध्यावधि समीक्षामा देखिन्छ । यस्तै उक्त आवधिक योजनाले आर्थिक वृद्धिद ९.६ प्रतिशत हासिल गर्ने लक्ष राखेको थियो । कोरोना महामारीलगायत अन्य कारणले अर्थतन्त्रमा देखिएको अनपेक्षित अवस्थाले योजना कार्यान्वयनको पहिलो बर्ष नै आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक रहन गयो । दोस्रो र तेस्रो बर्षमा क्रमशः ३.८ र ५.५ प्रतिशतले आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको समीक्षामा उल्लेख छ ।

यस्तै योजनाले सेवा क्षेत्रको वृद्धिदर औसतमा ९.४ प्रतिशत तोकेपनि हालसम्म कोरोनाकै कारणले जम्मा औसतमा १.८ प्रतिशत मात्रै वृद्धि भएको मध्यावधि समीक्षामा उल्लेख गरिएको छ । यस्तै समीक्षाले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको र गैर कृषि क्षेत्रको योगदान बढिरहेकोसमेत उल्लेख गरेको छ । यस्तै पछिल्लो समय घटिरहेको कोरोना महामारीको प्रभावका कारण आयात विस्तार हुँदा कुल गार्हस्थ उत्पादनसँग आयातको अनुपात करिव ४० प्रतिशत पुगेको छ । जसका कारण अर्थतन्त्रका बाह्य क्षेत्रमा प्रभाव परेको समिक्षामा बताईएको छ ।

पछिल्लो समय विप्रेषण आप्रवाहमा कमी र बढ्दो शोधनान्तर घाटाले अर्थतन्त्रमा चुनौति थपिदिएको समेत बताईएको छ । यस्तै समीक्षामार्फत आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, कृषि उत्पादनमा वृद्धिलगायतमा बिशेष ध्यान दिए लक्ष्यअनुसारको प्रगति हुने बताईएको छ ।

यस्तै वैदेशिक सहायतालाई राष्ट्रिय बजेट प्रणालीमा समावेश गर्ने, लगानीमैत्री वातावरण सिर्जना हुनेगरी राजश्व नीति अंगिकार गर्नेलगायतका सुझाव समीक्षामार्फत दिईएको छ । कृषि क्षेत्रमा देखिएका समस्या केलाई त्यसको दिगो समाधान गर्ने कार्यनीति बनाउनसमेत समीक्षामा सुझाव दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL