Logo

४ महिनामा ४ खर्ब ७७ अर्बको व्यापारघाटा, आयातदेखि निर्यातसम्म सबै ओरालो

४ महिनामा ४ खर्ब ७७ अर्बको व्यापारघाटा, आयातदेखि निर्यातसम्म सबै ओरालो



काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो ४ महिनामा नेपालले झण्डै पौने ५ खर्बको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्तिक मसान्तसम्म नेपालले ४ खर्ब ७७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

विभागका अनुसार यस अवधिमा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा आयात, निर्यातसँगै व्यापारघाटासमेत घटेको छ । गत आर्थिक बर्षको यहि अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । चालु आवको पहिलो ४ महिनामा गत आवको तुलनामा व्यापारघाटा १५.८८ प्रतिशतले घटेको हो ।

यस्तै यस अवधिमा आयातको व्यापार पनि घटेको छ । चालु आवको पहिलो ४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८.०८ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालमा ६ खर्ब ५० अर्ब बढिको वस्तु आयात भएको थियो ।

यस्तै चालु आवको ४ महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँ बढिको वस्तु निर्यात गरेको छ । यो पनि गत आवको सोही अवधिको तुलनामा ३३.३० प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बढिको वस्तु निर्यात गरेको थियो ।

यसरी समग्रमा हेर्दा नेपालको कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा गत आवको तुलनामा १६ प्रतिशतले घटिसकेको छ । तर, आयात व्यापारको हिस्सा भने यस अवधिमा २ प्रतिशतले बढेको भन्सार विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL