Logo

नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम मात्रै, एक महिनामै २७ अर्ब बढीको आयात

नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम मात्रै, एक महिनामै २७ अर्ब बढीको आयात



काठमाडौं । नेपालले विदेशबाट गर्ने वस्तु आयातमा पेट्रोलियम पदार्थको आयात माघमा पनि उच्च रहेको छ । माघ महिनामा मात्रै नेपालले २७ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म)मा मात्रै १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको हो । यो आयात नेपालको कुल आयातको २० प्रतिशत बढी हो ।

laxmi

अर्थात नेपालले पछिल्लो ७ महिनामा गरेको कुल आयातमा पेट्रोलियम पदार्थले मात्रै २० प्रतिशत हिस्सा ओगटेको छ । लगातार बढिरहेको नेपालको व्यापारघाटामा पनि सबैभन्दा ठूलो हिस्सा यसैको छ । अर्थात पछिल्लो ७ महिनामा मात्रै नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्दा पेट्रोेलियम पदार्थ एक्लैले १ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ बराबरको हिस्सा ओगटेको छ ।

यसरी हेर्दा नेपालले औसतमा प्रतिमहिना २५ देखि २८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरी खपत गरिरहेको छ । सरकारले नेपालको उच्च व्यापारघाटा घटाउनकै लागि पछिल्लो समय बिजुलीको खपत बढाउने रणनीति अपनाएपनि त्यसले काम नगरेको देखिएको छ । जसका कारण माघसम्म नेपालले ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख २९ हजार किलोलिटर डिजेल, ३८ अर्ब ८२ करोड बराबरको ३ लाख ९१ हजार किलोलिटर पेट्रोल र ३० अर्ब ३१ करोड रुपैयाँ बराबरको २९ करोड ८९ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको छ ।

खासगरी सरकारले नेपालमा उत्पादिन विद्युत खपत बढाउने योजना अघि सारेपनि घरायसी र औद्योगिक प्रयोजनका लागि आवश्यक बिजुली सम्बन्धित क्षेत्रमा पुर्याउन पूर्वाधार निर्माण ध्यान नदिँदा पेट्रोलियम पदार्थको आयात घटाउन नसकिएको यस क्षेत्रका जानकारहरु बताउँछन् । पछिल्ला केहि बर्षदेखि सरकारले घरायसी उपभोक्तालाई केन्द्रमा राखेर विद्युत खपत बढाउने भनिएपनि आवश्यक ट्रान्सफर्मर, भरपर्दाे विद्युत लाईन आदी नहुँदा यो कागजमै सीमित भएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताउँछन् ।

उनका अनुसार घरायसी उपभोक्ताको घरमा गरिएको वायरिङले एउटा विद्युतीय चुलो बाल्न नसकिने अवस्था छ । अझ कतिपय स्थानमा बेलुकातिर सबैको घरमा हिटर बाल्दा पनि एकाएक टोलभरकै बत्ती जाने अवस्था आउँछ । यसरी पूर्वाधार नै निर्माण नगरी अर्थात पुरानो संरचनालाई नयाँपन नदिईकनै विद्युत खपत बढाउने र पेट्रोलियम खपत घटाउने योजनाले सार्थकता नपाउने उनी बताउँछन् । जसका कारण उपभोक्ताहरु अझै खाना पकाउन ग्याँसको भर परेको र कतिपय औद्योगिक क्षेत्रमा अझै डिजेल र ग्याँसको प्रयोग भईरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL