Logo

बीमा समितिले जारी गरेको निर्देशनविरुद्ध बीमा कम्पनी असन्तुष्ट, विरोधका कार्यक्रम सार्वजनिक गर्दै

बीमा समितिले जारी गरेको निर्देशनविरुद्ध बीमा कम्पनी असन्तुष्ट, विरोधका कार्यक्रम सार्वजनिक गर्दै



काठमाडौं । बीमा समितिले नेपालका बीमा कम्पनीहरुले अनिवार्यरुपमा नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्देशन जारी गरेसँगै बीमा कम्पनीहरु आन्दोलित भएका छन् । बीमा समितिले प्रत्यक्ष हिस्सा (२० प्रतिशत) प्रदान गरिएको पुनर्बीमाबाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी कम्पनीलाई दिनुपर्ने र स्वदेशी कम्पनीले अस्वीकार गरेको खण्डमा मात्र विदेशी कम्पनीमा गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।

laxmi

बीमा समितिले जारी गरेको उक्त निर्देशन सीमिति व्यक्तिको स्वार्थमा सीमित कम्पनीलाई पोस्नका लागि ल्याइएको र उक्त व्यवस्था अन्तरराष्ट्रिय मान्यताविरुद्ध भएको भन्दै बीमा कम्पनीहरुले विरोध जनाएका छन् ।

बीमा समितिले हचुवाको भरमा निर्देशन ल्याएको र उक्त निर्देशन आफुहरुलाई मान्य नहुने नेपाल चेम्बरका अध्यक्ष तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । ‘अहिले बीमा समितिले राम्रो र कम रिक्स भएका व्यवसायको चाहिँ नेपालमै अनिवार्य रुपमा बीमा गर अनि जोखिम र नेपालका पुनर्बीमा कम्पनीले गर्न नचाहे मात्रै बाहिर गर भनेर निर्देशन जारी गरेको छ,’ उनले भने, ‘यो एकदमै स्वार्थ केन्द्रित निर्देशन आएको छ, यदि बीमा समितिले उक्त निर्देशन सच्याएन भने हामील विरोधका कार्यक्रम सार्वजनिक गर्ने छौं ।’ साथै समितिले जारी गरेको उक्त निर्देशन विश्व व्यापार संगठनको मान्यता विरुद्ध रहेको र अबका दिनमा विदेशी पुनर्बीमा कम्पनीहरुले नेपालबाट हात झिक्न सक्ने उनको भनाई थियो ।

साथै सहज र राम्रो व्यवसायको अनिवार्य रुपमा नेपाली पुनर्बीमा कम्पनीमै गर्नुगर्ने व्यवस्थाका कारण जोखिमपूर्ण व्यवसायको मात्र पुनर्बीमा गर्न विदेशी कम्पनी समेत नआउने हुँदा यसले बीमा क्षेत्रनै धराशायी बनाउने उनको तर्क थियो । ‘अहिले नेपालका दुई ओटा कम्पनीको कुल पुँजी १७ अर्ब रुपैयाँ छ तर यहाँ बार्षिक जोखिम बहन खर्बौं रुपैयाँ छ,’ उनले भने, ‘जुन काम नेपालका पुनर्बीमा कम्पनीले गर्ननै सक्दैनन् भने बीमा समितिले हचुवाको भरमा निर्देशन जारी गर्नुनै गलत हो ।’ यदि बीमा समितिले हचुवाको भरमा ल्याएको अव्यवहारिक निर्णय फिर्ता नलिए बीमा कम्पनीहरुले आफै बैठक बसेर चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरिने समेत उनले जानकारी दिए ।

यसैगरी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पनि बीमा समितिले जारी गरेको निर्देशन अन्तरराष्ट्रिय अभ्यासविरुद्ध रहेको बताए । ‘पहिलो कुरा नेपालका पुनर्बीमा कम्पनीहरुले पनि सबै पुनर्बीमा गर्न सक्दैनन्,’ उनले भने, ‘पुनर्बीमामा रिक्स बढी हुने भएकाले हामी बीमा कम्पनीले पनि बीमा समितिले निर्देशन दिँदैमा सबै पुनर्बीमा नेपाली कम्पनीमा गराउँदैनौं ।’

पुनर्बीमा पनि नाफा मुलक व्यवसाय भएको हुँदा कुनै पनि विदेशी कम्पनीले नेपाली कम्पनीले छाडेको र बढी जोखिम भएको क्षेत्रमा मात्र पुनर्बीमा गर्न नआउने उनको तर्क थियो । साथै बीमा समितिले ल्याएको निर्देशनको विषयमा आज बीमा कम्पनीहरुबीच छलफल रहेको र उक्त छलफलले आबका दिनमा कसरी अघि बढ्ने भनेर निष्कर्ष निकाल्नेसमेत क्षेत्रीले जानकारी दिए ।

यसैगरी अर्का एक बीमा कम्पनीका सिईओले हाल बीमा समितिले सीमित व्यक्तिको स्वार्थ पुर्ती गर्न अब्यवहारिक खालको निर्देशन ल्याएको बताए । ‘अहिले बीमा समितिले जुन निर्देशन जारी गरेको छ त्यसमा ठूलो स्वार्थ बाझिएको छ,’ ती सीईआले भने, ‘नेपालका बीमा कम्पनीहरुले पनि बजारीकण गरेर आफुलाई अब्बल बनाएर व्यवसाय गर्ने हो, तर यहाँ नियामकबाट बाध्यकारी निर्देशन जारी गर्न लगाउँदै सुती सुती व्यवसाय गर्न खोजे जुन आपत्तिजनक छ ।’

यसैगरी बीमा समितिले कुनै बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । तर बीमा कम्पनीहरुले भने आफुहरु अरुको नोकर नरहेको र कुनै कम्पनीसँग प्रमाण माग गर्दै नहिड्ने बताएका छन् । ‘अहिलेको प्रधिस्पर्धी युगमा कसैलाई व्यवसाय चाहिन्छ भने हामीसँग आउनुपर्छ,’ एक बीमा कम्पनीका सीईआले भने, ‘हामी कुनै पनि बीमा कम्पनीलाई तपाई हाम्रो पुनर्बीमा गर्नुहुन्छ कि हुँदै भनेर सोध्नका लागि ढोका चाहर्दै हिड्दैनौं ।’ साथै बीमा समितिका अध्यक्षलाई बीमासम्बन्धी ज्ञान नहुँदा अब्यवहारिक खालको निर्देशन आएको समेत ती सीईआको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL