काठमाडौं । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुले गत आवमा समग्रमा ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ५.७९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीले ४ अर्ब ९८ करोड ९९ लाख ८२ हजार रुपैयाँ नाफा कमाएका थिए ।
विशेषत निर्जीवन बीमा कम्पनीले गरेको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेसँगै यी कम्पनीहरुको खुद नाफा पनि प्रभावित भएको हो । लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.३१ प्रतिशतले घटेर ३ अर्ब २६ करोड ७५ लाख ९८ हजार रुपैयाँ सीमित भएको छ । विगत केही वर्षदेखि अर्थतन्त्रमा देखिएको सुस्तताको कारण बीमा कम्पनीहरुको लगानी तथा कर्जामा प्रत्यक्ष असर परेको हो ।
चुक्ता पुँजीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र रिटेर्ड अर्निङमा राष्ट्रिय बीमा कम्पनी अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रहेको छ । यसको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । त्यस्तै, शिखर इन्स्योरेन्सको पुँजी २ अर्ब ९२ करोड रुपैयाँ छ । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुमध्ये ४ कम्पनीको चुक्ता पुँजी अझै बीमा प्राधिकरणले निर्धारण गरेको २ अर्ब ५० करोड पुगेको छैन । पुँजी नपुगेकामध्ये अधिकांशले हकप्रद सेयर निष्कासनको तयारीमा रहेका छन् ।

यता, सबैभन्दा धेरै रिटेर्ड अर्निङ हुनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यसको रिटेन अर्निङमा २ अर्ब ४७ करोड ५३ लाख ४० हजार रुपैयाँ छ । त्यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको रिटेर्ड अर्निङमा ९५ करोड ५० लाख ८८ हजार रुपैयाँ रहेको छ ।
लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.३१ प्रतिशत घट्यो
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन २०.८२ प्रतिशतले बढेर १५ अर्ब ७२ करोड ५ लाख ९३ हजार रुपैयाँ पुगेको छ । २०८१ को असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीले कुल १३ अर्ब १ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यसले २ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यता, एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.३१ प्रतिशतले घटेर ३ अर्ब २६ करोड ७५ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा लगानी तथा कर्जाबाट निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ७५ करोड ७१ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । लगानी तथा कर्जाबाट सबैभन्दा धेरै आम्दानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यसले लगानी तथा कर्जाबाट ५१ करोड ९८ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
धेरै नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीले समग्रमा ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ५.७९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यसले ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये ५ वटाको नाफा घटेको छ भने अरुको बढेको छ ।
प्रतिसेयर आम्दानीमा राष्ट्रिय बीमा कम्पनी अगाडि
नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । यसको प्रतिसेयर आम्दानी १६० रुपैयाँ ३८ पैसा छ । तथापि, एक वर्षमा यसको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ८९ पैसाले घटेको हो । त्यस्तै, सिद्धार्थ प्रिमियमको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४१ पैसा छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी एनएलजी इन्स्योरेन्सको ६ रुपैयाँ २८ पैसा छ । एक वर्षमा ४ कम्पनीको मात्रै प्रतिसेयर आम्दानी बढेको छ भने ८ कम्पनीको घटेको छ ।
