Logo

सीएनआईको ‘मेकइन नेपाल-स्वदेशी’ अभियान घोषणा, हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने

सीएनआईको ‘मेकइन नेपाल-स्वदेशी’ अभियान घोषणा, हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने



काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ । हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने गरि अभियान घोषणा गरिएको हो ।

laxmi

निकै महत्वाकांक्षी रहेको अभियानअन्तरगत परिसंघले हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँचवर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने लक्ष्य परिसंघको छ । परिसंघले आफ्नो अभियानमार्फत देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने बताएको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु एवं सेवाको माग बढाउने लक्ष्यसहित अभियान सुरु गरेको बताए । ‘सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउन अभियानले थप सहयोग गर्ने छ’ अध्यक्ष मोरले बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले परिसंघले आयात प्रतिस्थापन र स्वदेशमा नै सामानको उत्पादनलाई विशेष प्राथमिकतामा राखी यो अभियानको परिकल्पना गरेको बताए । परिसंघका उपाध्यक्ष अनुज अग्रवालले ‘स्वेदशी अभियान देश विकासको महाअभियान रहेको बताए । “यो नेपालका लागि नेपाली अभियान हो । स्वदेशी भनेको उत्पादकका लागि एउटा ‘ब्याजअफ अनर’होस् भन्ने हाम्रो चाहना हो” उनले भने ।

परिसंघका प्रमुख आर्थिक सल्लाकार डा विश्व पौडेलले व्यवसाय मैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन एवं सहयोग गरेर यो अभियान सफल बनाउन सकिने बताए । यस्तै सेवा क्षेत्रलाई आधुनिकीकरण गर्दै सर्वसाधारणमा स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान चलाएर यो अभियान सफल बनाउन सकिने उनको भनाई छ ।

‘हामीले पाँच वर्षमा ‘डुइङ बिजनेस इन्डेक्स’ मा ३० औं स्थान माथि उक्लने लक्ष्य लिन सक्छौं। यसका लागि व्यवसाय सुरु गर्ने प्रक्रियालाई सहज बनाउने र डिजिटलाइजेसनलाई प्रोत्साहित गर्नुपर्छ,’, उनले भने। परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’को नारा ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL