Logo

सिएनआईका नवनिर्वाचित पदाधिकारी र अर्थमन्त्रीबीच भेट, चोरी पैठारी नियन्त्रण गर्न आग्रह

सिएनआईका नवनिर्वाचित पदाधिकारी र अर्थमन्त्रीबीच भेट, चोरी पैठारी नियन्त्रण गर्न आग्रह



काठमाडों । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए ।

उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए । १०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक बृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले गराए । अध्यक्ष पाण्डेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे ।

सो अवसरमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिनुहुँदै परिसंघले उठाएका विषयलाई गम्भिरतापूर्वक लिएको बताए । उनले प्रक्रियामा लगिसकेको बताउनुभयो । चरणवद्ध रुपमा अगाडि बढाउनुपर्ने सुझावहरुलाई सोही अनुरुप अगाडि बढाइने उनले बताए । अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजश्वमा परेको भन्नुहुँदै उहाँले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताए । मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे ।

अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This