Logo

‘गार्बेज क्याफे’ : जहाँ फोहोरको सट्टा खाना पाइन्छ, के नेपालमा यस्तो अवधारणा सम्भव छ ?

‘गार्बेज क्याफे’ : जहाँ फोहोरको सट्टा खाना पाइन्छ, के नेपालमा यस्तो अवधारणा सम्भव छ ?



काठमाडौं । फोहोर (गार्बेज), जुन चीज हाम्रो लागि काम लाग्दैन त्यो फोहोर बन्छ । यसको मतलब यो पनि होइन कि जुन चीज प्रयोगमा आउँदैन त्यो अरू कसैले पनि प्रयोग गर्न सक्दैन । तपाईलाई काम नलागेको त्यो फोहर अर्को कसैलाई प्रयोगमा आउन पनि सक्छ ।

laxmi

तर, केही चीजहरू यस्ता हुन्छन जो प्रयोग गरिसकेपछि पुनः प्रयोगमा आउँदैनन् वा मानिसका लागि, त्यसको संग्रह गरेर राख्न कठिन हुन्छ । जस्तो कि प्लास्टिकको बोतल, यो एक सामान्य फोहोर हो । मानिसहरू बोतलबाट पानी पिउँछन् र बोतल फ्याँक्छन् । तपाई यस्ता बोतल धेरै जम्मा गरेर राख्ने सोच्न सक्नुहुन्न । त्यसैले प्रायः सबैले यस्ता बोतल तथा धेरैजसो प्लाष्टिकजन्य फोहरहरु फ्याँक्नुको विकल्प देख्दैनन् । कुहिने फोहरहरु कम्पोष्ट बनाउन मिल्ने भएकाले प्रयोगमा आएपनि नकुहिने फोहरहरु भने फाल्नु नै पर्ने हुन्छ ।

यस्ता प्लाष्टिकजन्य फोहर अहिले विश्वकै टाउको दुखाईको विषय हो । प्लाष्टिक र प्लाष्टिकजन्य फोहरका कारण संसारका प्रायः शहरले समस्या र प्रदूषणको मार खेपेका छन् । जसका कारण विश्वका धेरै भागमा प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको अवस्था छ भने प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरको रिसाइकल गरि पुर्नप्रयोग पनि बढ्दो छ ।

नेपाल, भारतजस्ता देशका धेरै सडक तथा गल्लीमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर भेटिन्छ । यसले समग्र शहरी वातावरणलाई नै प्रदूषित बनाइरहेको अवस्था छ । अझ् प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा आउने एकदमै खराब धूवाँका कारण समग्र वातावरण नै प्रदूषित र गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउने जोखिम बढिरहेको छ ।

यस्तोमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरहरुलाई पुर्नप्रयोग गर्दै शहरलाई सफा राख्न तथा वातावरणलाई प्रदूषित बन्न नदिन पछिल्लो समय गार्बेज क्याफेको अवधारणाले निकै राम्रो काम गरेको छ । भारतमा सन २०१९ मा छत्तीसगढ़ राज्यको अम्बिकापुरमा पहिलो यस्तो क्याफे सञ्चालनमा आएको थियो । अम्बिकापुरको नगरपालिका काउन्सिलको एक परियोजना अन्तरगत क्याफेले एक किलो प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरको सट्टामा खाना दिने प्रस्ताव ल्यायो । जहाँ आधा किलो फोहरको बदलामा पर्याप्त बिहानको खाजा खान सकिने व्यवस्था थियो ।

यसले एकातिर फोहर उठाउने गरिब जसले क्याफेमा बसेर भरपेट खाने सोच्न पनि सक्दैनथे तिनका लागि दाल, आलू काउली, पापड र चामलको तातो खाना टेबुलमा राखेर खान सक्ने अवस्था श्रृजना गरेको थियो भने शहर सफा पनि भएको थियो । भारतले सामना गरिरहेका प्रदूषणको गम्भीर अवस्थामा अम्बिकापुरले स्वच्छतामा नवीन अवधारणा ल्याएर भारतको १५ औ सफ शहरको सूचीबाट अहिले दोश्रोस्वच्छ शहर बन्न सफल भएको छ ।

यस्तो योजनाले एक पटकमा दुई समस्याहरू हल गरेको छ । क्याफेले फोहोरलाई सम्हालेको छ भने भोका मानिसहरूलाई तातो खाना पनि दिएको छ । जसले प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर जम्मा गर्न र रिसाइकलका लागि कयाफेसम्म पुर्याउन प्रेरित पनि गरेको छ ।

यो अवधारणा अहिले भारतको अन्य भागहरूमा पनि फैलिदो छ । शनिबार भारतको राजधानी दिल्लीस्थित करोलबाग क्षेत्रमा मात्रै यस्ता ५ गार्बेज क्याफेको शुरुवात भयो । जहाँका पाँचबाट कयाफेमा फरक–फरक मेन्यु राखिएको छ । जसमा विभिन्न प्रकारका खाना खाजादेखि स्वीटहरुसम्म उपलब्ध छन् । एक किलो प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर जम्मा गरेर क्याफेमा पुर्याएपछि भरपेट खाना खान पाइन्छ । यो अभियानले गरिब र सडकमा आश्रितहरुलाई फोहर संकलन गर्न उत्प्रेरित गर्दै उनीहरुलाई शानदार खाना खाने अवसर दिएको छ भने शहर पनि सफा र वातावरण पनि प्रदूषणमुक्त बनाउन सघाउने निश्चित छ ।

अर्कोतर्फ प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरको रिसाइकल गर्दै अम्बिकापुरले प्लाष्टिकका सामान बनाउन आवश्यक कच्चापदार्थका रुपमा रहेको प्लाष्टिक ग्रेन्युल उत्पादन गरेर वार्षिक करोडौं रुपैयाँ आर्जन पनि गरिरहेको छ । यसलाई अहिले भारतका अन्य राज्यहरुले पछ्याइरहेका छन् ।

पछिल्लो समय प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुको व्यापक प्रयोग बढिरहेको नेपाल पनि अहिले प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरको बढ्दो समस्याबाट पिरोलिइरहेको छ । यस्तोमा नेपालले पनि अहिले अपनाइरहेको प्लाष्टिक नियन्त्रणका उपायहरुसँगै देशका प्रमुख शहरमा गार्बेज क्याफेको अवधारणा लागू गर्न सके उत्तम हुने देखिन्छ । यसले एकातिर शहरी गरिबलाई भरपेट खानाको अवसर दिनेछ भने शहर सफा पनि हुनेछ । अर्कोतर्फ रिसाइकल गरेर गर्न सकिने आम्दानीको अर्को पाटो पनि त छ । विभिन्न अन्तरराष्ट्रिय सञ्चार माध्यमका सामग्रीमा आधारित अनुुवाद

प्रतिक्रिया दिनुहोस्
MBL