Logo

फेसबुकमा फष्टाउँदै ठगीको व्यापार : नयाँ-नयाँ पेज खोल्दै सामानको प्रचार, ५ सयको सामान १५ सयमा विक्री

फेसबुकमा फष्टाउँदै ठगीको व्यापार : नयाँ-नयाँ पेज खोल्दै सामानको प्रचार, ५ सयको सामान १५ सयमा विक्री



काठमाडौं । काठमाडौं रानीबारीका घनश्याम रेग्मीले गत बुधबार शप–माण्डु नामको फेसबुक पेजमा देखिएको विज्ञापन हेरेर २ वटा वाफ लिने स्टिमर अर्डर गरे । आकर्षक भिडियोसहित राखिएको सो विज्ञापनमा कोरोनाभाइरसबाट बच्न उपयोगी हुनेदेखि, अनुहार सुन्दर हुने र स्वास्थ्यका लागि विभिन्न फाइदाजनक हुने भन्दै जम्मा २० पिसमात्र स्टिमर रहेकोले तुरुन्त अर्डर गर्न भनिएको थियो ।

laxmi

अझ सिमित अवधिका लागि १५ सय ९९ पर्ने स्टिमर जम्मा ९ सय ९९ मा सित्तैमा होम डेलिभरी पनि दिइने लोभ देखाइएको थियो । रेग्मीले विज्ञापनमा क्लिक गर्नेबित्तिकै सो पेजबाट अर्डरका लागि तपाईको नम्बर ठेगाना दिनुहोला भनिएको थियो । उनले पनि आफ्नो नाम र ठेगाना दिए । केही घण्टामै उनले अर्डर गरेको दुई थान स्टिमर आइपुग्यो । उनले ‘क्यास अन डेलिभरी’ को रुपमा सामान लिएर दुई हजार रुपैयाँ बुझाए ।

तर, सामान लिएको भोलिपल्टै उनले आफु नराम्ररी ठगिएको चाल पाए । आफ्नो घरबाहिरको भाँडा पसलमा उस्तै सामान देखेपछि जब उनले मूल्य सोधे उनी छाँगाबाट खसेजस्तो भयो । पसलेले प्रतिपिस मूल्य पाँच सय रुपैयाँमा विक्री गरिरहेका थिए । त्यसमा उनले आफ्नो नाफा पनि जोडेका थिए । तर, १५ सय ९९ मा अफर प्राइस भन्दै १ हजार रुपैयाँमा किनेको सामानमा आफु सय प्रतिशत बढी ठगिएको उनले चाल पाए ।

त्यसपछि उनले पुनः शप माण्डुमा फोन गरेर बजारमा ५ सयमा पाइने सामान छुट भन्दै १ हजार रुपैयाँ लिएर ठगी गरेको भन्दै आक्रोश पोखे । केही क्षण गुणस्तर र परल मूल्यको विषय झिकेर अल्मल्याउन खोजेपनि आफु कालोबजारीमा मुद्दा हाल्न जाने भनेपनि शप माण्डुले तुरुन्तै सबै पैसा फिर्ता गरेर सामान फिर्ता लैजाने प्रस्ताव गर्यो र तुरुन्तै उनको इसेवा एकाउन्टमा पैसा फिर्ता पठायो ।
बाँसबारीका नारायण अधिकारीले फेसबुक पेजबाटै आफ्नो मोटरसाइकलको रिमोर्टवाला साइरन अर्डर गरेर ९ सय रुपैयाँ तिरे । मोटरसाइकलको सुरक्षाका लागि ९ सय रुपैयाँ खर्च गरेका उनले जब सोही सामान बजारमा ३ सय ५० रुपैयाँमा भेटे त्यसपछि खिन्न भए । त्यसपछि फेसबुक पेजबाट कुनै सामान नकिन्ने निर्णय यरेका उनी भन्छन–‘फेसबुक पेज त अहिले ठग हरुले व्यापार गरेर सर्वसाधारण लुटने माध्यम पो बनेको रहेछ ।’

आफु ठगिएको थाहा पाएपनि उनले कुनै कम्प्लेन भने गरेनन् । फेसबुकबाट सामान किन्ने प्रायः उपभोक्ता आफु ठगिएको थाहा पाएपनि कम्प्लेन भने नगर्ने भएको अहिले फेसबुक पेज खोलेर व्यापार गर्नेहरु र त्यसबाट सर्वसाधारण ठगिने क्रम भने उपत्यारिलो ढंगले बढेको छ । यस्तो ठगी मुख्य गरी अहिल नौलो जस्तो देखिने बस्तुहरु पेजमा आकर्षक भिडियो र तस्वीर बनाएर राख्ने, दुई सयको सामानलाई ११ सय मूल्य राख्ने र त्यसमा छुट भन्दै ७ सयमा बेच्ने प्रवृत्ति नै मौलाएको छ ।

हिजोआज बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै धेरैले फेसबुक पेज खोलेरे व्यापार गर्दै नाफा कमाउने काम गरिरहेका छन् । बिना कुनै शुल्क, केही मिनेटमै फेसबुक प्रयोगकर्तामाझ पुग्ने हुँदा अहिले फेसबुकमा व्यापार गर्नेहरुको भीड देखिन्छ । व्यापार गर्ने उद्देश्यलाई गलत भन्न नमिले पनि यस्ता धेरै फेसबुकका व्यापारीहरु भने अहिले उपभोक्ताको शिकार गरिरहेका छन् । सरकारले फेसबुकबाट भइरहेको व्यापारबारे कुनै कानूनी व्यवस्था नगरेको तथा उपभोक्ताहरु आफु ठगिएको थाहा पाएपनि उजुरी गर्न कहाँ जाने भन्ने अन्यौलमा रहने हुँदा ठगी थप मौलाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको महामारीसँगै उपभोक्ताको मनोविज्ञान बुझेका धेरै यस्ता ठग फेसबुक व्यापारीले कोरोनामा वाफ लिनु लाभदायक भएको भन्दै स्टिमर विक्रीको लहर नै चलाएका छन् । फेसबुक खोल्ने वित्तिकै शप माण्डु, भरोसा अनलाइन, योर सप, किनुमा, कोसेली, एएस ट्रेडर्सलगायत सयौ पेज देखिन्छन । परल मूल्य ३–४ सय पर्ने सामान सर्वसाधाराणलाई धमाधम १ हजारमा बेच्न पाएपछि यस्तो धन्दा फष्टाउने नै भयो । अझ यस्ता फेसबुक पेजबाट हुने व्यापार न त दर्ता हुन्छन न त कर नै तिर्छन ।

अहिले फेसबुकभरि यस्ता सयौ पेजहरुबाट मोबाइलको चार्जरदेखि, इयरफोन, घडी, चश्मा, हेयर ड्रयर, हेयर स्ट्रेटर, ट्रिमरलगायत हजारैं थरी सामान किन्न पाइन्छ । आकर्षक फोटो र भिडियो राखेर दुई–चार प्रतिशत मूल्य बढाएर अनि डिस्काउन्ट मूल्यमा भन्दै ठगीको व्यापार चलिरहेको छ । उपभोक्ता आफैं सचेत नबन्ने हो भने यहाँको वरिपरि २ सयमा पाइने बस्तु यस्ता फेसबुके व्यापारीले १ हजारमा यहाँलाई नै बेच्ने छन् । जुन धन्दा अहिले पनि निर्धक्क चलिरहेको छ ।

पछिल्लो समय फेसबुक लगाउत अनलाइन सपिङको नाममा उपभोक्ताहरु ठूलो ठगीमा पर्ने गरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव कुमार तिमिल्सिना बताउँछन् । उनका अनुसार नेपालमा अनलाईन सपिङलाई नियमन गर्ने कानुन नभएका कारण उपभोक्ता ठगिने क्रममा कमी नआएको हो ।

तीव्र स्तरमा अनुगमन भईरहेको भएपनि पक्रने र कारबाही गर्ने कानुनको कमीकै कारण यस्तो अवैधानिक धन्दाका दोषीहरु उम्किन सक्ने अवस्था छ । जसलाई नियमन गर्न कानूनको आवश्यकता भएको र उक्त कानून निर्माणका लागि संस्थाले विभिन्न पहल गरिरहेको उनले बिजखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL